BIZMANDU
www.bizmandu.com

बीवाइडीलाई एमजीको टक्करः १०० किलोवाट माथिको लङ रेन्ज इभी ल्याउँदै, जेड एसको बुकिङ खुला

२०७९ असोज ३०

बीवाइडीलाई एमजीको टक्करः १०० किलोवाट माथिको लङ रेन्ज इभी ल्याउँदै, जेड एसको बुकिङ खुला
बीवाइडीलाई एमजीको टक्करः १०० किलोवाट माथिको लङ रेन्ज इभी ल्याउँदै, जेड एसको बुकिङ खुला


काठमाडौं। एमजीको लङ रेन्ज इलेक्ट्रिक कार जेड एस इभीको नेपालमा बुकिङ खुल्ला गरेको छ। एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आइतबारदेखि जेडएस इभीको लङ रेन्जको बुकिङ खुला गरिएको जनाएको छ।

Tata
Global Ime

इलेक्ट्रिक गाडीको सिरिजमा बीवाइडीले एटो-३ शनिबार मात्रै नेपाली बजारमा सार्वजनिक गरेको थियो। त्यस लगतै एमजीले पनि आफ्नो लङ रेन्ज इभीको बुकिङ खुला गरेको हो। यसअघि दुवै कम्पनी सरकारले इभीका लागि करको दर हेरफेर गर्ने आशामा गाडी झट्टै ल्याउन उचित हुने/नहुनेमा अलमलमा थिए। तर सरकारले करका दरमा हेरफेर नगर्ने संकेत गरेपछि एकपछि अर्को गर्दै यी कम्पनीले गाडी ल्याउन थालेका हुन्।

बीवाइडी एटो-३ को नेपाली बजार मूल्य ८९.९ लाख तोकिएको छ। एमजीले उस्तै रेन्जको आफ्नो मोडलको मूल्य लगभग ७ लाख कम निर्धारण गरेको छ। पारामाउन्टका अनुसार कम्पनीले नेपालका लागि बिक्री मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकेको छ। ग्राहकले १ लाख रुपैयाँमा बुकिङ गर्न सक्ने बिक्रेता कम्पनीले जनाएको छ।

यसभन्दा अघि सरकारले १०० किलोवाट क्षमता भन्दा माथिका विद्युतीय गाडीमा बढाएको करले मूल्य बढेपछि कम्पनीले बुकिङ फिर्ता गरेको थियो। लङ रेन्ज मोडलको त्यो बेला मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो।

अहिले कायम गरिएको मूल्य पहिलेको तुलनामा २२ लाख महँगो हो। 

एमजीको लङ रेन्ज इभीमा ७२ किलोवाट क्षमताको ब्याट्री प्याक छ। यसले एक पटकको फुल चार्जमा ४४० किलोमिटर दुरी पार गर्न सकिने कम्पनीको दाबी छ। यस्तै ५ वटा रङ कोमो ब्ल्यु, कस्मिक सिल्भर, डाइमन्ड रेड, पेब्बल ब्ल्याक र डोभर ह्वाइटमा उपलब्ध हुनेछन्।

यसले १५० किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्न सक्छ। यसलाई डीसी चार्जरले ३७ मिनेट चार्ज गर्दा २९२ किलोमिटर गुडाउन सकिन्छ। साथै, ७.४ किलोवाट क्षमताको एसी चार्जरले ११ घन्टामा फुल चार्ज गर्नेछ।

पारामाउन्टले एमजीको नयाँ लङ रेन्ज गाडी डिसेम्बरसम्म ग्राहकलाई डेलिभरी दिने जनाएको छ।