BIZMANDU
www.bizmandu.com

बढेको मूल्यले दुई पांग्रे सवारी पनि सर्वसाधारणको पहुँचबाट टाढा हुँदै, २ वर्षमै मूल्य उच्च


बढेको मूल्यले दुई पांग्रे सवारी पनि सर्वसाधारणको पहुँचबाट टाढा हुँदै, २ वर्षमै मूल्य उच्च
बढेको मूल्यले दुई पांग्रे सवारी पनि सर्वसाधारणको पहुँचबाट टाढा हुँदै, २ वर्षमै मूल्य उच्च


काठमाडौं। दोलखाका राजाराम बस्नेत कोरोनापछि लगतै होन्डाको शोरुम कान्तिपथमा डिओ स्कुटर किन्न भनेर गएका थिए। मूल्य थियो १ लाख ९० हजार। फाइनान्सका लागि प्रक्रियामा झमेला भयो र त्यसबेला किनेनन्। उनी अहिले स्कुटरको दाम सुनेर छक्क परेका छन्।

Tata
Global Ime

दसैंका अफर घोषणा भए। सुनेर नगदमै किन्ने योजना बनाएका उनी केही दिनअघि फेरि होन्डाको शोरुम पुगे। उक्त स्कुटरको मूल्य सोधे। कम्पनीका एक कर्मचारीले उनलाई होन्डाका बाइक र स्कुटरका नयाँ मूल्यको सूची नै दिए।

'मैले डिओ किन्ने सोच बनाएर आएकाले त्यसकै मूल्य हेरेँ। तर म २ वर्ष अघि आउँदाको मूल्य भन्दा ३६ हजार रुपैयाँ जस्तो महँगो देखे,' उनले भने, 'अहिले त त्यो स्कुटर २ लाख २७ हजार रुपैयाँ पुगेछ। अहिलेसम्म बढे पनि १० हजार त बढ्यो होला नि भनेर २ लाख पैसा लिएर आएको थिएँ। तर अब मूल्य देखेर किन्ने आँट आएन।'

उनले दुई वर्षदेखि काम गरेको तलबबाट थोरै-थोरै पैसा जम्मा गरेर स्कुटर किन्न लागेका थिए। त्यसरी जम्मा गरेको पैसाले नयाँ स्कुटर किन्न नसक्ने भएपछि उनी अहिले सेकेन्ड ह्यान्ड स्कुटर चढिरहेका छन्। 'नयाँ कसरी किन्ने ? हामीले काम गरेको ठाउँमा तलब बढेको छैन, महँगी यस्तरी बढेको छ,' उनले भने।

केही वर्षदेखि सवारीसाधनमा बढेको मूल्यले दुई पाङ्ग्रेसमेत सर्वसाधारणको पहुँचबाट टाढा हुँदै गएको छ। पोहोरसम्म २ लाखको हाराहारीमा किन्न पाइने बाइक र स्कुटरहरुको मूल्य हिजोआज सवा दुई लाखदेखि तीन लाखभन्दा माथिसम्म उक्लिएको छ। नेपाली बजारमा पाइने हिरो, होन्डा, यामाहा, सुजुकी, टीभीएसलगायत सबै ब्रान्डका दुई पांग्रेको भाउ बढेको छ। 

सवारी प्रयोगकर्ताका लागि स्कुटरका सुविधामा धेरै प्रयोग भएका छन्। सुविधा पनि थपिएर आएका छन्। बाइक त झन महँगा भएका छन्। विभिन्न ब्रान्डका आधिकारिक बिक्रेताहरुले नयाँ मूल्यहरु धमाधम सार्वजनिक गरिरहेका छन्। तर उनीहरुसँग मूल्य घटेको सूची छैन। स्वदेशमा उत्पादन गर्न सरकारले उद्योगीलाई सहुलियत घोषणा गरे पनि सवारीसाधनको भाउ घटेका छैनन्।

चालु वर्षको बजेटबाट सरकारले १५० सीसीभन्दा कम क्षमता भएका दुई पाङ्ग्रेको अन्तःशुल्क ५ प्रतिशतले घटाएको थियो। तर घटेको अन्तःशुल्कको असर दुई पाङ्ग्रे सवारीको बजारमा देखिएन। कुनै पनि आधिकारिक बिक्रेताहरुले उक्त कर अनुसार बाइक तथा स्कुटरको मूल्य घटाएका छैनन्।

बजारमा उपलब्ध सामानहरुको मूल्य बढेपनि आम नागरिकको आम्दानी भने पुरानै रुपमा चलिरहेको छ। नेपालमा उपलब्ध रोयल इन्फिल्डको क्लासिक बुलेटको मूल्य हाल ६ लाख ९९ हजार रुपैयाँ पुगेको छ। दुई वर्षअघि ५ लाख १५ हजार रुपैयाँ थियो।

यस्तै बजाजको पल्सर १५० को मूल्य दुई वर्ष अघि २ लाख ५७ हजार ९ सय रुपैयाँ थियो। अहिले बढेर २ लाख ८२ हजारमाथि पुगेको छ। सुरुमा २ लाख ८६ हजारमा पाइने पल्सर एनएस १६० को मूल्य हाल ३ लाख २४ हजारसम्म पुगेको छ। 

यसैगरी पल्सर २२० को मूल्य पनि धेरै बढेको छ। दुई वर्षअघि ३ लाख १६ हजारदेखि ३ लाख ३२ हजार ९ सय रुपैयाँ थियो, हाल बढेर ३ लाख २९ हजारदेखि ३ लाख ९१ हजार रुपैयाँसम्म पुगेको छ। एनएस २०० को पनि हाल ३ लाख ३९ हजारदेखि ३ लाख ९५ हजार रुपैयाँ पुगेको छ। दुई वर्ष अघि ३ लाख ३४ हजारदेखि ३ लाख ५६ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। यसको पनि यस अवधिमा ३५ हजार रुपैयाँले बढेको छ।

यसैगरी नेपालमा धेरै बिक्री हुने टीभीएस ब्राण्डका दुई पाङ्ग्रे साधनको पनि मूल्य बढेका छन्। २ लाख १५ हजारमा पाइने टीभीएसको एन्टर्क स्कुटरको मूल्य सेगमेन्ट अनुसार अहिले न्युनतम २ लाख ३१ हजारदेखि ३ लाख ५ हजार रुपैयाँसम्म छ। यसको दुई वर्षअघि २ लाख ४४ हजार पर्ने बाइक अपाचे आरटीआर १६० हाल २ लाख ९० हजार पुगेको छ। 

अर्को चलेको ब्रान्ड यामाहाका पनि दुई पाङ्ग्रेमा मूल्य बढेका छन्। धेरै बिक्री हुने एफजेड बाइकको मूल्य २ लाख ९९ हजारबाट बढेर ३ लाख २३ हजार रुपैयाँ पुगेको छ। यसको स्कुटर रे जेडआर १२५ को मूल्य २ लाख ६४ हजार रुपैयाँ छ। दुई वर्षअघि २ लाख ५४ हजार थियो।

हिरोका दुई पाङ्ग्रे सवारीको मूल्यमा पनि वृद्धि भएका छन्। प्लेजर प्लस प्लाटिनम स्कुटरको मूल्य अहिले २ लाख १५ हजार रुपैयाँ छ। यसको दुई वर्ष अघि १ लाख ९८ हजार रुपैयाँ थियो। यस्तै हिरोको सुपर स्प्लेण्डर बाइकको मूल्य भेरियन्टअनुसार २ लाख ३१ हजारसम्म छ। तर यसको दुई वर्षअघि मूल्य १ लाख ९८ हजार थियो।  

यसरी हेर्दा विभिन्न कम्पनीहरुले दुई वर्षको अवधिमा बाइक तथा स्कुटरहरुमा मूल्य ३० हजारदेखि डेढ लाख रुपैयाँसम्मले बढाएका छन्। मूल्य फरक परिरहँदा कतिपय कम्पनीले बढेको मूल्य आफ्ना वेबसाइटमा अपडेट गरेका छैनन्।

सहकारी र फाइनान्स कम्पनीहरु स्कुटर/मोटरसाइकल खरिदमा ऋण दिन उत्साहित छैनन्। बढेको महँगीले सर्वसाधारणसँग पैसा छैन। त्यसै पनि महँगिएको नयाँ दुई पांग्रे साधन सर्वसाधारणको पहुँचबाट टाढिदै गएको देखिएको छ। 

४० प्रतिशतले बढ्यो मूल्य 

आधिकारिक बिक्रेताहरुले पछिल्लो समय उत्पादक कम्पनीलेहरुले मूल्य बढाए अनुसार नेपालमा पनि मूल्य बढेको बताउँछन्। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा स्पेयर पार्ट्सदेखि अन्य सामाग्रीहरुको अभावले गर्दा उत्पादक कम्पनीले मूल्य बारम्बार बढाएको अटो व्यवसायीहरु बताउँछन्।

नेपालमा धेरै दुई पाङ्ग्रे सवारी आयात हुने भनेको भारत बाट हुन्छ। भारतमा मूल्य बढेपछि नेपालमा पनि त्यसको असर स्वाभाविक रुपमा बढ्ने गरेको छ। भारतीय अटो बजार पनि अन्तर्राष्ट्रिय बजारमा निर्भर छ। भारतबाट हाल लोकप्रिय बजाज, टीभीएस, होन्डा, सुजुकी, हिरो, यामाहा, रोयल इनफील्ड, जावा लगायतका ब्रान्डहरु नेपाल आयात हुने गरेका छन्।

यस्तै मोडलहरु उत्पादक कम्पनीहरुले अपग्रेड गर्दा पनि मूल्य बढेर आएको बिक्रेताहरु बताउँछन्। उत्पादक कम्पनीहरुले पछिल्लो समय पुराना मोडलहरुलाई विभिन्न फिचरहरुसहित अपग्रेड गर्दै आएका छन्। त्यही अनुसार मूल्य बढेका छन्।

नेपालमा बजाज र टीभीएसले एसेम्बल गरेर दुई पाङ्ग्रे सवारी बिक्री गर्दै आएका छन्। बजाज र टीभीएसले कारखाना राख्दा बजारमा परेको प्रभाव अध्ययन गरेका अन्य कम्पनी पनि एसेम्बल प्लान्ट राख्न इच्छुक देखिएका थिए। विस्तारै बजार मन्दीतर्फ लागेपछि नयाँ योजनामा कम्पनीहरु काम गर्न हच्किएका छन्।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाका अनुसार कोरोनापछिको दुई वर्षको अवधिमा चारपाङ्ग्रे र दुई पाङ्ग्रे लगायतका कमर्सियल सवारीसाधनमा ४० प्रतिशतसम्मले मूल्यवृद्धि भएका छन्।

'यसमा नेपालका आधिकारिक बिक्रेताले मात्र आफैं मूल्य बढाएका होइनन्, ग्लोबली नै उत्पादन कम्पनीहरुले मूल्य बढाएका छन्,' उनले भने, 'पछिल्लो समय चिप अभाव तथा स्पेयर पार्ट्स र फलामजन्य पदार्थमा मूल्य बढेको छ।' उत्पादन लागत नै बढेकाले कारखाना, अधिकृत बिक्रेता, बिक्रेता हुँदै ग्राहकसम्म चाप परेको उनको भनाइ छ।

डलरको भाउ बढेको असर पनि अटोमोबाइल बजारमा सोझै परेको थापाको बुझाइ छ।