काठमाडौं। साताको पहिलो कारोबार दिन पनि सेयर बजारमा घट्ने ट्रेन्डले निरन्तरता पाएको छ। कारोबार रकम पनि घटेको छ। आइतबार नेप्से ९.६९ अंकले घट्दा परिसूचक १८६०.९४ विन्दुमा आइपुगेको छ। यस्तै सेन्सेटिभ पनि १.७२ अंकले घटेको छ।
जानकारहरुले सरकारले सहज रुपमा व्यवसायिक लगानी गर्ने वातावरण नभित्र्याएसम्म सेयर बजार सकारात्मक नहुने बताएका छन्।
'अहिले तरलता सहज छैन। जसका कारण हामीले सहज रुपमा ऋण पनि पाउँदैनौं। पाएपनि नीतिको कारणले १२ करोड भन्दा माथि ऋण लिन पाउँदैनौं। व्यवसायिक लगानीकर्तालाई पाखा लगाउने काम गर्यो सरकारले। मार्केट बढ्न व्यवसायिक लगानी चाहिन्छ। जबसम्म व्यवसायिक लगानी भित्र्याउने वातावरण बनाइँदैन तबसम्म बजार सकारात्मक बन्दैन। अहिले बजार घट्नु यसकै कारण हो,' सेयर बजार विश्लेषक तुलसी राम ढकालले भने।
आइतबार दिनभर २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता सेयर किनबेच हुँदा ८० करोड रुपैयाँ बढीको कारोबार भएको छ। बिहीबार ८२ करोड रुपैयाँको कारोबार भएको थियो।
विश्लेषक ढकाल अहिले लगानीकर्तादेखि नेतासम्म चुनावी माहोलमा होमिएकाले बजार घटेको जिकिर गर्छन्।
आइतबार कारोबारको आधारमा एभरेष्ट बैंक अग्रस्थानमा छ। बैंकको ८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यस्तै गरिमा विकास बैंकको पनि ४ करोड बढीको सेयर कारोबार भएको छ। केही साता अघि नेप्सेमा सूचीकृत भएको अभियान लघुवित्तको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।