BIZMANDU
www.bizmandu.com

आन्तरिक संरचना नहेरी राष्ट्र बैंकले गलत नीति लिँदा ब्याज दर १८% पुग्यो, खराब ऋण बढ्ने खतरा

२०७९ असोज ३१

आन्तरिक संरचना नहेरी राष्ट्र बैंकले गलत नीति लिँदा ब्याज दर १८% पुग्यो, खराब ऋण बढ्ने खतरा
आन्तरिक संरचना नहेरी राष्ट्र बैंकले गलत नीति लिँदा ब्याज दर १८% पुग्यो, खराब ऋण बढ्ने खतरा


काठमाडौं। बैंकहरुले लिने ऋणको ब्याज दर १८ प्रतिशत नाघेको छ। बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी सोमबारबाट निक्षेपसँगै ऋणको ब्याज पनि बढाएका छन्।

Tata
Global Ime

बैंकहरुले असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याज दर स्थिर राखे पनि ऋणको भने बढाएका छन्। भदौको तुलनामा असोजमा बैंकहरुले निक्षेपको ब्याज बढाएका थिए। त्यो बढेको लागत कात्तिकको ऋणमा उनीहरुले सारेका हुन्।

भदौमा साधारण मुद्दतीको ब्याज दर ११.०३ प्रतिशत थियो। बचतको ब्याज दर ६.०३ देखि ८.०३ प्रतिशतसम्म थियो। असोजमा बैंकहरुले साधारण मुद्दतीको ब्याज दर १२.१३३ प्रतिशत पुर्‍याएका थिए। बचतको ब्याज दर दोहोरो अंकमा पुर्‍याएका थिए। बैंकर्स संघमा भएको छलफलपछि बैंकहरु कात्तिकमा निक्षेपको ब्याज नबबढाउने निर्णयमा पुगे पनि ऋणको भने बढेको छ।

राष्ट्र बैंकको नियमले निक्षेपको ब्याज दर हरेक महिना तल-माथि गर्न पाइए पनि ऋणको भने बढाउनु परेमा तीन महिना कुर्नै पर्छ। त्यसो हुँदा बैंकहरुले असोजमा बढाएको निक्षेपको ब्याजको लागत ऋणमा सार्न पाएका थिएनन्।

तीन महिनाको चक्र असोज मसान्तमा सकिन्छ। त्यही भएर उनीहरुले पुराना ऋणीको समेत ब्याज कात्तिकबाट बढाएका हुन्। नयाँ ऋणीको ब्याज भने हरेक महिना बढिरहेकै थियो।

बैंकहरुले आधार दरमा प्रिमियम थपेर ब्याज निर्धारण गर्छन्। निक्षेपको ब्याज जति जति बढ्यो आधार दर उति-उति बढ्छ र ऋणको ब्याज महँगिन्छ।

बैंकहरुले आधार दरका आधारमा मात्र ऋणको ब्याज बढाएका छैनन्। निक्षेपमा दिने र ऋणमा लिने ब्याजको अन्तर (स्प्रेड दर) पनि फराकिलो बनाउँदै लगेका छन्। 

औसत २.६ प्रतिशतसम्म झरिसकेको स्प्रेड दर ४ प्रतिशत नाघिसकेको छ। अर्कोतिर आधार दरमा प्रिमियम २/३ प्रतिशत मात्र  लिइरहेका बैंकले अहिले ७/८ प्रतिशत नै लिन थालेका छन्।

तरलता संकटमा नयाँ ऋण लगानी ठप्प भए पनि नवीकरणीय ऋणको ब्याज बैंकहरुले मनपरी ढंगले बढाएका हुन्। नियामकले फी, कमिसन आम्दानीमा कडाइ गरिरहेका बेला ऋण पनि ठप्प भएपछि बैंकहरुले प्रिमियम अत्यधिक बढाएर आम्दानी सुधार गर्ने रणनीति लिएका हुन्।

नेपाल राष्ट्र बैंकको चाहनामा बैंकहरुले ब्याज बढाएका हुन्। आन्तरिक अर्थतन्त्रको संरचनालाई वेवास्था गरेर राष्ट्र बैंकले एक पक्षीय ढंगले अन्तर्राष्ट्रिय परिदृष्यको रटान लगाइरहेको छ।

महँगिदो डलर र आयातित सामानकै कारण मूल्यवृद्धि भइरहेका बेला राष्ट्र बैंकले ब्याज बढाएर मूल्यवृद्धि नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय अभ्यासको जस्ताको त्यस्तै अनुकरण गर्दा ऋण अत्यधिक महँगो भएको हो।

'महँगी नियन्त्रण गर्न ब्याज बढाउनु स्वाभाविक हो। तर यो ठिकठाक चलेको अर्थतन्त्रका लागि हो,' राष्ट्र बैंकबाट अवकाश एक कार्यकारी निर्देशकले भने, 'यहाँ मूल्यवृद्धि विदेशबाट सँगसँगै आउँछ। जुन कुरा आन्तरिक रुपमा ब्याज बढाएर सम्भव छैन। अझ ब्याजले थप लागत बढाउँछ र मूल्यवृद्धि माथि लैजान्छ। त्यो कुरा राष्ट्र बैंकले बुझ्नै चाहेन। एकहोरो संसारभरी ब्याज बढाइएको छ भनेर रटान लगाइरह्यो।'

तरलता अभावकै कारण अनुत्पादक क्षेत्रमा ऋण जान छाडिसकेको छ। तर राष्ट्र बैंकले आन्तरिक अर्थतन्त्रको संरचना नहेरी निर्णय लिँदा बढेको ब्याजका कारण खराब ऋण बढ्ने अवस्थासमेत आएको छ।

ब्याज महँगिएपछि सरकारले कसरी घटाउन सकिन्छ भनेर अध्ययन नै  थालिसकेको छ। यद्यपी अध्ययन प्रतिवेदन कार्यान्वयन भने गरिएको छैन।

राष्ट्र बैंकको गलत नीतिका कारण ब्याज बढेपछि उद्यमीहरु विरोधमा उत्रिसकेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले ब्याज वृद्धिको विरोध गरिरहेका छन्।

मोफसलका सहरहरुमा व्यवसायीले ब्याज बढेको भन्दै बैंकविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिन थालेका छन्।