काठमाडौं। सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले ४.९ मेगावाटको माथिल्लो पिखुवा खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।
प्रस्तावित आयोजना भोजपुरको ट्याम्केमैयुम गाउँपालिका पर्ने पिखुवा र बुन्खुवा खोलाको पानीलाई उपयोग गर्ने गरी निर्माण हुनेछ। खोलाको दायाँ किनारमा मुख्य संरचनाहरु रहने नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना निर्माण गर्न लागिएको छ।
आयोजना सम्भाव्यता अध्ययन प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदन तयार भइसकेको छ। सो आधारमा विद्युत विकास विभागले सार्वजनिक सूचना निकालेर आयोजना निर्माण तथा संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय तथा प्रतिक्रिया पेस गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ।
आयोजनाका लागि आवश्यक पानी फर्काउन १५ मिटर लम्बाइ र २.५ मिटर उचाइको डाइभर्सन निर्माण गरिनेछ। विद्युतगृह नजिकै आउटडोर स्वीचयार्ड निर्माण गरिनेछ। यस आयोजनामार्फत उत्पादन हुने विद्युत ३५ किलोमिटर लामो ३३ केभी सिंगल सर्किट प्रसारणलाइनमार्फत संखुवासभाको बानेश्वरमा निर्मित न्यु बानेश्वर सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
यो आयोजना २०८२ सम्ममा सम्पन्न गर्ने लक्ष्य छ।