काठमाडौं। अथर्व डेभलपर्सले थापाथलीको ११ आना जग्गामा अथर्व इम्पेरियल अपार्टमेन्टको निर्माण सुरु गरेको छ। ६ तला अग्लो हुने अपार्टमेन्टमा कुल ११ युनिट रहनेछ।
११ मध्ये ७ युनिट मात्रै बिक्री गर्ने र बाँकी ४ युनिट भने आफूहरुले नै राख्ने अथर्व डेभलपर्सका अध्यक्ष विजय जाजोडियाले जानकारी दिए। आफूले राख्ने युनिट भने कम्पनीले रेन्टल प्रयोजनका लागि प्रयोग गर्ने बताइएको छ।
भुँइतलामा रहेको १२५८ वर्गफिटको (दुई बेडरुम) युनिटको मूल्य ३ करोड ५७ लाख ८ हजार रुपैयाँ र माथिल्लो तलाहरुमा रहेको १४५० वर्गफिट (तीन बेडरुम) युनिटको ३ करोड ९७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीले अपार्टमेन्ट बुकिङ गर्ने ग्राहकहरुलाई आठ प्रतिशतसम्म छुट पाइने जाजोडियाले बताए। उनले अपार्टमेन्टको लागत भने खुलाउन चाहेनन्।
'अपार्टमेन्टमा एउटा जिम हल दिन्छौं। एउटा कम्युनिटी हल दिन्छौं। लिफ्टसहित अपार्टमेन्टमा दुईवटा गाडी अट्ने हाइड्रोलिक पार्किङ हुन्छ। एउटा फ्ल्याटलाई दुईवटा गाडी पार्किङको सुविधा दिन्छौं। ११ वटा फ्ल्याटको २२ वटा गाडी अट्ने हामीसँग पार्किङ क्षमता छ। अपार्टमेन्टका फ्ल्याटहरु वास्तु अनुकूल निर्माण हुनेछ,' जाजोडियाले भने।
युनिटहरुमा फल्स सिलिङ, मोडुलर किचेन, फ्लोरिङसहित युनिट आफूहरुले बेच्ने कम्पनीले जनाएको छ। अहिलेसम्म कुनै अपार्टमेन्ट युनिट बुकिङ भने भइनसकेको उनले बताए।
'दुई तीन वटा बुकिङ हुने प्रक्रियामा छ। सायद तिहार पछि बुकिङ हुन्छ,' उनले भने।
अपार्टमेन्टको बेसमेन्टको ढलानको काम सकिएर अब तला थप्दै जाने तयारी भइरहेको जाजोडियाले बताए। मनसुनका कारण केही समय काम रोकिएको र अब तिहारपछि अपार्टमेन्ट निर्माणले गति लिने बताइएको छ। इकाइधनीहरुलाई १५ महिनाभित्र युनिट हस्तान्तरण गर्ने तयारी छ।
'यो हाम्रो पहिलो रियल इस्टेट परियोजना हो। यो सकाएपछि हामी नयाँ परियोजना ल्याउने योजनामा छौं। अथर्व इम्पेरियल अपार्टमेन्ट हाम्रो पारिवारिक लगानीको परियोजना हो,' उनले भने।