BIZMANDU
www.bizmandu.com

कर्जाको ब्याजदरले सेयर बजारको लय प्रभावित, आगामी चाल प्रक्षेपण गर्न नसक्दा निष्क्रिय बस्न थाले

२०७९ असोज ३१

कर्जाको ब्याजदरले सेयर बजारको लय प्रभावित, आगामी चाल प्रक्षेपण गर्न नसक्दा निष्क्रिय बस्न थाले
कर्जाको ब्याजदरले सेयर बजारको लय प्रभावित, आगामी चाल प्रक्षेपण गर्न नसक्दा निष्क्रिय बस्न थाले


काठमाडौं। निक्षेपको लागतसँगै बढेको बैंकहरुको कर्जाको ब्याजदरले सेयर बजारको चालमा सोमबार गहिरो प्रभाव पार्यो। बढेको ब्याजदरले सेयर बजारमा अन्योलता बढेलगत्तै लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका हुन्।

Tata
Global Ime

बैंकहरुले लिने ऋणको ब्याज दर १८ प्रतिशत नाघेको छ। बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी सोमबारबाट निक्षेपसँगै ऋणको ब्याज पनि बढाएका छन्। 

बढेको निक्षेपको ब्याजदरले सेयर बजारको लगानी प्रति संशय उत्पन्न गरिरहेको बेला कर्जाको ब्याज ह्वात्तै बढ्दा लगानीकर्ता बजारबाट पलायन हुने अवस्था निर्माण भएको जानकारहरु बताउँछन्।

सोमबार बजारको उतारचढाव पनि सामान्य रह्यो। १० अंकको उतारचढाव मात्र देखियो। बजार बन्द हुँदा परिसूचकले २.६१ अंक गुमाएर १८५८.३३ को विन्दुमा सिमित हुन पुगेको छ। बिक्रेता र क्रेता दुवै पक्षको सक्रियतमा आज समान रहेको देखिन्छ। भोलाटिलिटीको लिभरेज नपाउँदा कारोबारको रुचि पनि गुमेको छ। 

सोमबार लगानीकर्ता ब्याजदरको त्रासले निष्क्रिय बस्दा कारोबार रकम अघिल्लो बियरिस नजिक पुगेको हो। आज कारोबार अवधिभर मात्र ५० करोड रुपैयाँको सेयर किनबेच भयो। अन्तिम सत्रमा बिक्रेता हावी हुँदा कारोबारले तिव्रता पाएको हो। परिसूचक पनि यहि सत्रमा सर्वाधिक घट्यो।

बिक्रेताको नियन्त्रणमा सोमबार सेयर बजार रहेतापनि वाणिज्य बैंक र होटल तथा पर्यटन अन्तर्गतका कम्पनीमा आकर्षण कायमै छ। नाफा बढाएका वाणिज्य बैंकले लाभांशमा जोड दिने लगानीकर्ताको अपेक्षा रहेको छ। 

यसले वाणिज्य बैंकहरुको सेयर खरिद बिक्री पनि ह्वात्तै बढेको छ। लाभांशको राम्रो ट्रयाक रेकर्ड भएका वाणिज्य बैंकहरुले लगानीकर्ताको आकर्षण बटुलेका हुन्। प्रभु बैंक, नबिल बैंक, एभरेष्ट बैंक लगायतका सेयर कारोबारको शिर्ष स्थानमा छन्। 

पर्यटकिय क्रियाकलाप बढे लगत्तै होटेलहरुको प्रगति पनि उत्साहजनक छ। पछिल्लो दुई वर्षदेखि प्रतिफल नबाँडेको हुँदा कम्पनी प्रति लगानीकर्ताको आकर्षण बाक्लिएको हो। उत्पादन तथा प्रसोधनका सेयर किन्नेहरु पनि बजारमा उत्तिकै सक्रिय छन्।

लाभांशको सिजनले हाइड्रो प्रति लगानीको इच्छा त्यति देखिँदैन। सोमबार सर्वाधिक गुमाउने जलविद्युतका सेयर नै हुन्।