BIZMANDU
www.bizmandu.com

नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ कम्पनीले सेबोनमा दिए आवेदन, सनी सेक्युरिटिजको पनि पर्‍यो आवेदन


नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ कम्पनीले सेबोनमा दिए आवेदन, सनी सेक्युरिटिजको पनि पर्‍यो आवेदन
नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ कम्पनीले सेबोनमा दिए आवेदन, सनी सेक्युरिटिजको पनि पर्‍यो आवेदन


काठमाडौं। नयाँ ब्रोकर लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्डमा ४६ कम्पनीको आवेदन परेको छ। बोर्डका अनुसार १ अर्ब ५० करोड चुक्ता पुँजी भएको एउटा स्टक डिलरसहित ६० करोड चुक्ता पुँजी भएको ४ ‌वटा फुल ब्रोकर र २० करोड चुक्ता पुँजी भएको सीमित कार्य गर्ने ब्रोकरका लागि ४१ वटा कम्पनीले आवेदन दिएका छन्।

Tata
Global Ime

'नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने म्याद आजबाट सकियो,' बोर्डका प्रवक्ता रुपेश केसीले भने,' सोमबारसम्म जम्मा ४६ कम्पनीको आवेदन परेको छ। जसमा एउटा स्टक डिलर, चार ‌वटा फुल ब्रोकर र ४१ वटा सीमित कार्य गर्ने छन्।'

बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार नबिल सेक्युरिटिजले स्टक डिलरका लागि आवेदन दिएको छ। यस्तै पूर्ण कार्य गर्ने ब्रोकरका लागि मेगा स्टक मार्केट्स लिमिटेड, हिमालयन सेक्युरिटिज लिमिटेड, सनी सेक्युरिटिज लिमिटेड र सेन्चुरी सेक्युरिटिज लिमिटेडले आवेदन दिएको बोर्डले जनाएको छ।

सीमित कार्य गर्ने कम्पनीहरुमा भोले गणेश सेक्युरिटिज, कलश सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, केबिएल सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज लगायत ४१ वटा छन्। 

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि गत असोज २ गते एक सूचना जारी गर्दै ३० दिन भित्र आवेदन पेस गर्न आह्वान गरेको थियो। बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावलीलाई पाँचौ पटक संशोधन गरी थप नयाँ ब्रोकर कम्पनीहरुका लागि दर्खास्त आह्वान गरेको हो।

संशोधित नियमावली अनुसार बोर्डले ब्रोकर कम्पनीहरुलाई तीन तहमा विभाजन गरेको छ। सोही अनुसार चुक्ता पुँजी पनी फरक छ। जसमध्ये सीमित कार्य गर्ने ब्रोकर कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ, पूर्ण कार्यलाई ६० करोड रुपैयाँ र स्टक डिलरलाई डेढ अर्ब रुपैयाँ निर्धारण गरेको छ।

नयाँ ब्रोकर लाइसेन्सका लागि बोर्डमा आवेदन दिनु पूर्व नेप्सेबाट सिफारीस लिनु पर्ने छ। नेप्सेले सोमबार नै नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ वटा कम्पनी सिफारिस गरेको छ। तर बोर्डमा भने ४६ वटा कम्पनीको आवेदन परेको छ।

'स्टक एक्सचेन्जले आजसम्म ४५ वटा कम्पनीलाई सिफारिस दियो। तर यता बोर्डमा ४६ वटाको आवेदन आयो। एउटा सनी सेक्युरिटिज कम्पनी बढी देखियो। सनी सेक्युरिटिज अहिले ५० वटा ब्रोकर भित्रकै ब्रोकर हो। यसले सेवा थपका लागि फुल ब्रोकरका लागि आवेदन दिएको हो। त्यसैले नेप्से र बोर्डको तथ्यांकमा फरक देखिएको हो,' केसीले भने।

सनी सेक्युरिटिजले अहिले पनि ब्रोकर सेवा उपलब्ध गराउँदै आएको छ। 

नयाँ ब्रोकर लाइसेन्सका लागि आजसम्म बोर्डमा रितपूर्वक आवेदन दिएका कम्पनीहरुको आवेदन जाँचबुझ पछि उपयुक्त ठहरिएमा कम्पनीलाई बोर्डले पहिलो चरणमा पूर्वाधार निर्माणका लागि सूचित गर्नेछ।

कम्पनीले पूर्वधार तयार गरेपछि बोर्डलाई जानकारी दिनुपर्ने छ। त्यसको ३० दिनभित्र बोर्डले स्थलगत अध्ययन गरी जाँचबुँज गर्छ। पूर्वाधार पर्याप्त देखिएमा मात्रै धितोपत्र व्यवसाय संचालन गर्ने अनुमति दिन्छ। तर जाँचबुँझ गर्दा पर्याप्त पूर्वधार नदेखिएमा भने बोर्डले तीन महिनाको समय तोकेर व्यवस्थापनको समय उपलब्ध गराउँछ।