BIZMANDU
www.bizmandu.com

मौसममा सुधारसँगै बढ्यो माउन्टेन फ्लाइट, हिमाल हेर्ने उडानका सहभागीमा ६०% भन्दा बढी विदेशी

२०७९ कात्तिक २

मौसममा सुधारसँगै बढ्यो माउन्टेन फ्लाइट, हिमाल हेर्ने उडानका सहभागीमा ६०% भन्दा बढी विदेशी
मौसममा सुधारसँगै बढ्यो माउन्टेन फ्लाइट, हिमाल हेर्ने उडानका सहभागीमा ६०% भन्दा बढी विदेशी


काठमाडौं। मौसमी सुधार आएसँगै वायुसेवा कम्पनीहरुले पर्वतीय उडान (माउन्टेन फ्लाइट) बढाएका छन्। एक सातायता मौसममा सुधार आएसँगै यात्रुको मागअनुसार फ्लाइट थपेका हुन्। 

Tata
Global Ime

बुद्ध, यती, श्री, गुण लगायत वायुसेवाले पर्वतीय उडान गर्दै आएका छन्। माउन्टेन फ्लाइटमा ६० प्रतिशतभन्दा बढी विदेशीको सहभागिता हुने गरेको छ।

विभिन्न मुलुकबाट नेपाल घुम्न आएका पर्यटकले  पर्वतीय उडान रुचाएको कम्पनीहरुले जनाएका छन्। एक सातायता यात्रुको माग वृद्धि भएसँगै बुद्ध एयरले दैनिक अधिकतम सातवटा उडान गरेको विक्री तथा बजार निर्देशक रुपेश जोशीले बताए।

'अहिले माउन्टेन फ्लाइटमा ६० प्रतिशत पश्चिमा मुलुकका र ४० प्रतिशत भारतीय टुरिस्ट हुने गरेका छन्। कोभिड अगाडिको तुलनामा यतिखेर ५० प्रतिशत माग कायम हुँदै आएको छ,' उनले भने।

माउन्टेन फ्लाइटको माग वृद्धि भएसँगै अधिकांश जहाजमा 'विन्डो साइड'(झ्यालपट्टिको सीट) टिकट बिक्री भइरहेको यती एयरलाइन्सले जनाएको छ। केही यात्रुले विन्डो र नन्-विन्डो साइडको सीटका लागि माग गरे अनुसार साबिकको तुलनामा १५ सय रुपैयाँ छुटमा टिकट बिक्री गर्दै आएको उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन वर्तौलाले बताए।

'हामीले यो उडानका लागि कुल ७२ सिटमध्ये ३६ सिट बिक्री गर्दै आएका छौं। यसमा अधिकांश दिन फुल अकुपेन्सी कायम हुँदै आएको छ,' उनले भने, 'अहिले यो उडानका लागि नेपालीको तुलनामा विदेशी यात्रुको माग धेरै देखिएको छ।'

एक सातायता माउन्टेन फ्लाइटको माग उल्लेख्य रहेको श्री एयरलाइन्सले जनाएको छ। कम्पनीले दैनिक दुईवटा सम्म उडान गर्दै आएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए। 'अहिले अधिकांश यात्रु तेस्रो मुलुक र भारतबाट आउने पर्यटक रहेका छन्,' उनले भने।

विचक्राफ्ट र जेटस्ट्रिम जहाजमार्फत दैनिक दुईवटा उडान गर्दै आएको गुण एयरलाइन्सले ५० प्रतिशतभन्दा बढी सहभागीता विदेशी पर्यटकको रहेको प्रवक्ता प्रज्वल थापाले बताए। 'हामीले विन्डो सिट मात्र बिक्री गर्दै आएका छौं। यात्रु माग आएसँगै शतप्रतिशत सिट बुकिङ हुँदै आएको छ,' प्रवक्ता थापाले भने।

वायुसेवा कम्पनीका अनुसार यो उडानका लागि प्रति व्यक्ति १५ हजार रुपैयाँ कायम गरिएको छ। जसअन्तर्गत करिब आठ हजार रुपैयाँ भाडा दर, सरचार्ज ६५ सय र विमास्थल र सेवा शुल्क पाँच सय रुपैयाँ कायम हुँदै आएको छ। यसैगरी विदेशी पर्यटकका लागि प्रतिव्यक्ति २ सय ३०  डलर निर्धारण गरिएको जनाइएको छ।

माउन्टेन फ्लाइट हरेक दिन बिहान ७ बजेदेखि हुँदै आएको कम्पनीले जनाएको छ।