विराटनगर। पूर्वका जिल्ला नगर उद्योग वाणिज्य संघहरूले बैंक ब्याजदर वृद्धिविरूद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न उद्योग वाणिज्य महासंघलाई दबाब दिएका छन्। महासंघ प्रदेश नम्बर १ ले बिहीबार ब्याजदर वृद्धिसम्बन्धी अन्तर्क्रिया कार्यकक्रममा सहभागी जिल्ला नगरका पदाधिकारीले दबाब दिएका हुन्।
उदयपुर जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष मुना कटुवालले साना तथा मझौला व्यवसायीलाई वाणिज्य बैंकहरुले ज्यादती गरिरहेको आरोप लगाइन्। उपाध्यक्ष कटुवालले २ वर्षअघि ६ प्रतिशतमा लिएको ऋणको ब्याजलाई बैंकले क्रमशः वृद्धि गर्दै असोज मसान्तमा १६ प्रतिशत पुर्याएको बताइन्।
‘अब व्यवसाय गर्नसक्ने अवस्था रहेन’, उनको माग थियो, ‘महासंघले देशव्यापी आन्दोलनका कार्यक्रमको घोषणा गरोस्। अन्यथा पूर्वका जिल्ला जिल्लामा स्वतःस्फूर्त आन्दोलनका कार्यक्रम सञ्चालन गरिने छन्। यसपटक पश्चिमबाट सुरु भएको आन्दोलनले पूर्वमा निर्णायक रूप लिनेछ।’
मोरङको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजालले महासंघले अब पनि आन्दोलनका कार्यक्रम ल्याएन भने देशभरिका व्यवसायीको महासंघ प्रतिको विश्वास सकिने चेतावनी दिए।
अध्यक्ष रिजालले देशभरिका उद्योग वाणिज्य संघको छाता संगठन र त्यसका पदाधिकारीप्रतिको विश्वास घट्दै गइरहेको दाबी गरे। रिजालले सुन्दरहरैँचा नगरपालिकामा बैंकका कर्मचारी असोज मसान्तका दिन किरियापुत्री बसेका घरमा गएर धर्ना दिएको सुनाउँदै योभन्दा अमानवीय र क्रूर काम के हुनसक्छ भन्दै प्रश्न गरे।
‘अहिले राष्ट्र बैंकका गभर्नर एकातिर, सरकार अर्कातिर भएको अवस्था छ’, उनको भनाइ थियो, ‘यसको पीडा आम व्यवसायीले भोग्नुपरेको छ। त्यसैले महासंघले आन्दोलनका कार्यक्रमको घोषणा गरोस्। देशभरिका व्यवसायीले साथ दिनेछन्।’
उनले ठुला औद्योगिक घराना नै बैंकका सञ्चालक पनि भएको र महासंघमा पनि तिनकै वर्चस्व भएको अनुभव जिल्लानगरका व्यवसायीले गरेको उल्लेख गरे। झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठले बैंकहरूले पहिलेका शोषक र सामन्तीको जस्तै गरी ऋणीको जग्गा हडपिरहेको गुनासो गरे।
अध्यक्ष श्रेष्ठले जिल्लानगरका हाँगाबिँगाले मात्र आन्दोलन गरेर नहुने चर्चा गर्दै महासंघ नै सडकमा आउनुपर्नेमा जोड दिए।
झापाको दमक उद्योग वाणिज्य संघका मोहन ढकालले बैंकले देशका केही ठुला औद्योगिक घरानालाई बेस रेटमा ०.२५ देखि ०.५ प्रतिशत मात्र ब्याज लिने गरेको तर साना र मझौला व्यवसायीलाई बेस रेटमा ७ प्रतिशत थपेर लिइरहेको गुनासो गरे।
व्यवसायी ढकालको भनाइ थियो, ‘यहाँ ठुला उद्योग व्यवसाय, बैंक, बीमा, हाइड्रो, घरजग्गा सबै एकै घरानाले चलाउँछन्। यसको मार हामी साना र मझौला व्यवसायीलाई परेको छ। बैंकको यो मनपरीलाई हामीले नियन्त्रण गर्न सकेनौँ भने हामीले सटर बन्द गरेर खाडी जानुपर्ने दिन आउनेछ।’
ढकालले महासंघले देशव्यापी रूपमा नारा, धर्ना, तालाबन्दी, जुलुस के गर्नुपर्छ तुरुन्त कार्यक्रम प्रकाशित गरोस् भन्ने माग गर्दै नभए जिल्ला उद्योग वाणिज्य संघ नै अल्टिमेटम दिन तयार भएको घोषणा गरे।
सुनसरीको इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र शाहले महासंघ ठुला व्यापारिक घरानाको मात्र संस्था हुनु नहुने धारणा प्रकट गरे। अध्यक्ष शाहले ऋणको ज्यादतीबाट ग्रस्त हुने सबै क्षेत्रका नागरिकले जिल्ला जिल्लामा तुरुन्त प्रदर्शन सुरु गर्नुपर्ने राय दिए।
मोरङको उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रीतम खड्गीले बैंकले व्यवसायीसँत मित्रता नभई शत्रुताको व्यवहार गरिरहेको विचार व्यक्त गरे। अध्यक्ष खड्गीले आफ्नो घरमा असोज मसान्तका दिन बैंकका कर्मचारी बिहान ८ बजे धर्ना दिन आएर आफूलाई सामाजिक रूपमा बेइज्जत गरेको आरोप लगाए।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले देशभरिका सबै जिल्ला नगर उद्योग वाणिज्य संघको एकै स्वर र एकै कार्यक्रम नभएसम्म राष्ट्र बैंक र सरकारको आँखा नखुल्ने तर्क अघि सारे। अध्यक्ष श्रेष्ठले बढ्दो ब्याज दर विरूद्धमा महासङ्घले प्रभावकारी कार्यक्रम ल्याएन भने जिल्लाजिल्ला र नगरनगरले विद्रोह गर्ने चेतावनी दिए ।
उदयपुरको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले ब्याजदर वृद्धिको यत्रो संकट पर्दा पनि महासंघ मौन साधेर बस्नु गम्भीर र दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले व्यवसायीले आन्दोलन गरेर आफ्ना माग पूरा गर्दा राज्य विफल हुने र नगर्दा उद्यम व्यवसाय धराशायी हुने गम्भीर परिस्थितिको निर्माण भएको चर्चा गरे।
‘आन्दोलन नै गरिहाल्ने हाम्रो मनशाय होइन’, अध्यक्ष प्याकुरेलले भने, ‘हामी पहिले ज्ञापनपत्र आदिका माध्यमबाट निश्चित समय सरकार र राष्ट्र बैंकलाई दिऊँ, हामीले दिएको समयभित्र केही गरिएन भने आन्दोलनको बाटो पक्रने उपाय छँदैछ।’
महासंघको प्रदेश १ का उपाध्यक्ष भीम पौडेलले बैंकर्स संघले गरेका हरेक निर्णयलाई राष्ट्र बैंकले भोलिपल्टै पूरा गर्ने गरेको आरोप लगाए। उपाध्यक्ष पौडेलले बैंकर्स संघ र राष्ट्र बैंक एकै भएको दाबी गर्दै यसको दुःख साना र मझौला व्यवसायीले पाइरहेको सुनाए।