BIZMANDU
www.bizmandu.com

मूल्यवृद्धि अचाक्ली बढ्यो, सबै क्षेत्रको भाउ उक्लियो, राष्ट्र बैंक भन्छ काठमाडौंमा त कमै हो

२०७९ कात्तिक ४

काठमाडौं। मूल्यवृद्धि दर दोब्बरभन्दा माथि उक्लिएको छ। पोहोर भदौमा ३.४९ प्रतिशत रहेको मूल्यवृद्धि दर यसपालीको भदौसम्म आइपुग्दा ८.६४ प्रतिशत पुगेको हो।

Tata
Global Ime

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्यसँगै डलरको भाउ बढ्दा मूल्यवृद्धिमा चाप परेको हो। यसले यातायात, ढुवानीदेखि सबै क्षेत्रको लागत बढाएको छ। यसबाहेक रुस-युक्रेन युद्धले खाद्यान्नको भाउ पनि उक्लिएको छ।

राष्ट्र बैंकले शुक्रबार भदौको आर्थिक अवस्था सार्वजनिक गर्दै खाद्यान्नको भाउ ८.१७ प्रतिशतले बढ्दा गैर-खाद्यको ९.०२ प्रतिशतले बढेको जनाएको छ।

हरेक क्षेत्रको भाउ बढेको राष्ट्र बैंकको भनाइ छ। फलफूल, घ्युतेल, रेष्टुरेन्ट तथा होटल, मदिराजन्य पदार्थदेखि तरकारीसम्मको भाउ बढेको छ।

स्वास्थ्य सेवादेखि फर्निसिङ, घरायसी उपकरण, शिक्षा लगायतको भाउ बढेको छ। राष्ट्र बैंकको तथ्यांक पत्याउने हो भने हिमालपछि काठमाडौंको मूल्यवृद्धि कम छ।

हिमाली क्षेत्रमा ६.६८ प्रतिशतले भाउ बढेको छ भने काठमाडौंमा ७.६२ प्रतिशतले बढेको छ। सबैभन्दा बढी मार तराइका बासिन्दालाई छ। यहाँ ९.३३ प्रतिशतले बढेको छ। यसपछि पहाडको भाउ ८.८२ प्रतिशतले बढेको छ।

रेमिटेन्स बढ्यो

यता बाह्य क्षेत्रमा केही सुधार देखिएको छ।

रेमिटेन्स आयमा थोरै सुधारका बाबजुद आयातमा केही वृद्धि हुँदा विदेशी मुद्राको सञ्चिति घटेको छ।

नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको भदौसम्मको आर्थिक सूचकहरु सार्वजनिक गर्दै विदेशी मुद्राको सञ्चिति (रुपैयाँमा) ८ अर्ब ६९ करोड रुपैयाँले घटेको छ। यद्यपि सञ्चिति घट्ने क्रम केही सुस्त भएको छ।

डलरमा पनि विदेशी मुद्राको सञ्चिति ९ अर्ब ३५ करोडमा झरेको छ। जबकी यो ९ अर्ब ५४ करोड थियो।

साउनमा १७.९५ अर्बले घटेको सञ्चिति भदौमा ८ अर्ब ६९ करोडले घटेको हो। शोधनान्तर घाटामा रहे पनि भदौमा फराकिलो अन्तर भने छैन।

साउनमा २२ अर्ब ६३ करोड घाटामा रहेको शोधनान्तर भदौमा २३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। जबकी गत आर्थिक वर्ष शोधनान्तर घाटा २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ पुगेको थियो। पोहोर भदौमै पनि शोधनान्तर ८३ अर्ब ४१ करोड रुपैयाँ घाटामा थियो।

चालु खाता घाटा दोस्रो महिना नै दोब्बरले ऋणात्मक भएको छ। साउनमा १६ अर्ब २६ करोडको घाटामा भदौमा ३७ अर्ब १८ करोड घाटामा पुगेको छ।

साउनको तुलनामा आयात बढेको छ। साउनको तुलनामा भदौमा ११ अर्ब २ करोड बढीले आयात भएको छ। भदौ एक महिनामा मात्र १४२ अर्ब ३१ करोडले आयात बढेको छ। यही आयातका कारण विदेशी मुद्राको सञ्चिति घटेको हो।

जबकी विदेशमा काम गर्ने नेपालीले साउनको तुलनामा भदौमा २ अर्ब ६२ करोड रेमिटेन्स पठाएका छन्। भदौमा मात्र ९४ अर्ब ८३ करोड रेमिटेन्स पठाएका हुन्।

पोहोर भदौमा ७९ अर्ब ४१ करोड रेमिटेन्स भित्रिएको थियो। रेमिटेन्समा भएको सुधारका बाबजुद आयात बढ्दा सञ्चितिमा दबाब कायमै रहेको हो।

जबकी सरकारले भदौ मध्यसम्म १० वस्तुको आयातमा प्रतिबन्ध थियो। त्यसपछि पनि ४ वस्तुको आयातमा प्रतिबन्ध कायमै छ। बढी आयात हुने गाडी, मोटरसाइकल लगायतको आयातमा कडाइका बाबजुद पनि आयातको ग्राफ उक्लिएको छ। यही कारण शोधनान्तर अवस्थामा सुधार नभएको हो।