BIZMANDU
www.bizmandu.com

जोगबनीबाट किनमेल गरेर फर्कनेलाई विराटनगर भन्सारद्वारा जाँचमा कडाइ, एकै सातामा राजस्व दोब्बर 

२०७९ कात्तिक ५

जोगबनीबाट किनमेल गरेर फर्कनेलाई विराटनगर भन्सारद्वारा जाँचमा कडाइ, एकै सातामा राजस्व दोब्बर 
जोगबनीबाट किनमेल गरेर फर्कनेलाई विराटनगर भन्सारद्वारा जाँचमा कडाइ, एकै सातामा राजस्व दोब्बर 



विराटनगर। विराटनगर भन्सार कार्यालयले यात्रु शाखामा चेकजाँचलाई कडा बनाएको छ। विराटनगरका व्यवसायीले सीमापारिको जोगबनीका कारण वारिको व्यवसाय संकटग्रस्त भएको गुनासो गरिरहेका बेला भन्सारले यात्रु शाखालाई कडा बनाएको हो।

Tata
Global Ime

विराटनगर-जोगबनी नाकाअन्तर्गत पर्ने यात्रु शाखा नै पहिले विराटनगरको मुख्य नाका थियो। तीन वर्षअघि विराटनगर भन्सार पुरानो ठाउँबाट केही पर आइसीपीमा सरेपछि रानी नाकालाई यात्रुका लागि मात्र प्रयोग गर्न दिइएको छ।

विराटनगरसँग जोडिएको पारिको बजार जोगबनीमा खाद्यवस्तुदेखि विभिन्न प्रकारका सामान किनमेलमा दिनहुँ उल्लेख्य संख्यामा नेपाली आउजाउ गर्छन्।

उपभोग्य तथा दैनिक घरेलु प्रयोगका सामान भन्दै महँगा मालवस्तु ल्याउनेसँग भन्सारले कर असुली बढाएको छ। भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढुंगानाका अनुसार पारिबाट आउने हरेकलाई नाकामा चेकजाँच कडा पारिएको हो। नाकामा सुरक्षाकर्मी र भन्सार कर्मचारीले गर्ने चेकजाँच गर्छन्। 
महँगा सामान ल्याएको पाइए त्यसको कर तिरेर मात्रै लैजान दिन्छन्। पारिबाट किनमेल गरी ल्याएका मालवस्तुको राजस्व भन्सारले अनिवार्य रूपमा तिराइरहेको उनले बताए। यात्रु शाखामा कडाइसँगै राजस्व असुली दुई गुनाले वृद्धि भएको छ। 

'यसअघि दैनिक १ लाखभन्दा कम असुली गरिरहेको यात्रु शाखाले एक हप्तायता दैनिक २ लाखभन्दा बढी संकलन गरिरहेको छ,' उनले भने। कडाइकै कारण भन्सार कार्यालयमा अवैध आयातसम्बन्धी मुद्दा पनि बढिरहेका छन्। 

प्रति दिन कम्तीमा एउटा मुद्दा दर्ता भइरहेको अधिकृत ढुंगानाले बताए।