काठमाडौं। यसपाली तिहारमा दुई दिन धनतेरस परेपछि सुनचाँदीको खपत धेरै भएको छ। यसैपनि धनतेरसको दिन सबैभन्दा धेरै सुनचाँदीको कारोबार हुन्छ। धनतेरसका दिन सुन, चाँदी, तामा र पित्तल जस्ता सरसामान खरिद गर्दा शुभ हुने मान्यता रहेकाले यो दिन यस्ता सामाग्रीको कारोबार उच्च हुने गरेको छ।
धनतेरसमा उपभोक्ताहरुले सुन, गरगहनासँगै तामा र पित्तलका भाडाकुडा बढी खरिद गर्छन्। धनतेरसमा आफ्नो क्षमता अनुसार किनमेल गर्छन्। सक्नेले सुनचाँदी र कम क्रय क्षमता हुनेले तामा र पित्तलका सरसामान खरिद गर्छन्। यसले गर्दा यतिबेला बजारमा उपभोक्ताको भिडभाड छ।
यसपटक पनि धनतेरसको पहिलो दिन बजारमा सुनचाँदीको राम्रो व्यापार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शनिबार मात्र धनतेरसका कारण देशभर करिब ५५ केजीभन्दा बढी सुनको बिक्री भएको अनुमान गरिएको महासंघका महासचिव धर्मभक्त बज्रचार्यले बताए।
शनिबार मात्रै १५ सय केजीभन्दा धेरै चाँदी बिक्री भएको छ। 'हरेक वर्ष धनतेरसको दिन सुनभन्दा चाँदीको व्यापार निकै बढी हुन्छ' उनले भने।
महासंघले तिहारको ४ दिनमा दैनिक ३५ केजीदेखि ४० केजी सुन र २ हजार केजी चाँदी बिक्री हुने गरेको जनाएको छ।
दुई दिन धनतेरस परेकाले सुनचाँदीको खपत बढेको हो। गत वर्ष धनतेरसका दिनमा ४५ केजीभन्दा बढी सुन बिक्री भएको थियो। एक दिनमा मात्र एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
गत वर्ष एक दिन मात्र धनतेरस परेको थियो। यस वर्ष दुई दिनको कारोबार राम्रो भएपछि व्यवसायीहरु उत्साहित भएको महासचिव बज्राचार्यले बताए।
चालु आर्थिक वर्षमा सुनको आयात कम हुँदा तिहारमा अभाव हुने भनिएको थियो। अहिले बजारमा माग अनुसार सुनको आपूर्ति भएको उनको भनाइ छ। व्यवसायीहरुले तिहारको लागि स्टक राखेको सुन प्रयोग गरेका छन्।
अफसिजनको समयमा व्यवसायीहरुले सिजनको लागि सुन स्टक राख्छन्। उक्त सुन यतिबेला प्रयोग भएको उनले बताए। यससँगै केही बनाएर राखेको (पुरानो) गरगहना पनि बिक्री भएको छ।
केही ग्राहकहरुले धनतेरसको लागि पहिलेनै सुन अर्डर गर्छन्। कतिपयले रेडिमेड गरगहना र सिक्का खरिद गर्छन्। यतिबेला बजारमा चर्को तरलता संकट भएको भनिए पनि धनतेरसमा उत्साहजनक व्यापार भएको व्यवासयीहरुले बताएका छन्।
धनतेरसले एकैदिन सुनको मूल्यवृद्धि
यो वर्ष धनतेरसका कारण सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको महासंघले जनाएको छ। शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको सुनको मूल्य शनिबार बढेर प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ।
महासंघले शनिबार सुनचाँदीको नयाँ मूल्य कायम गर्दैन। तर हिजो शनिबार भएपनि धनतेरसलका दिन मूल्यवृद्धि भएको छ। यो समयमा कारोबार बढी हुने भएकोले मूल्य बढाइएको महासंघले जनाएको छ।