काठमाडौं। निजी क्षेत्रका संगठनहरुले आर्थिक संकटले अन्य व्यवसाय प्रभावित हुँदा बैंकले भने उच्च नाफा कमाएको बताइरहँदा बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले भने फरक तस्बिर दिएको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सोमबार सार्वजनिक गर्दै बैंकहरुले निजी क्षेत्रका संगठनले लगाएको आरोप गलत भएको तथ्य देखाइदिएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक पत्रकारमाझ अन्य क्षेत्र नराम्रोसँग प्रभावित हुँदासमेत बैंकहरुले उच्च नाफा गरेको बताएका थिए। उनको संगठनले विज्ञप्ति नै जारी गरेर संकटका बेला बैंकले फाइदा उठाएको जनाएको थियो।
सञ्चालनमा रहेका २६ वाणिज्य बैंकले पोहोर असोज मसान्तको तुलनामा यसपालि मसान्तमा ६ प्रतिशतले मात्र नाफा बढाएका छन्।
तरलता संकटका कारण ब्याज दर उक्लिएको छ। उच्च ब्याजका कारण ऋण लिनेहरु निरुत्साहित भएका छन्। महँगो ब्याजका कारण ऋण तिर्ने क्षमतामा कमी आएर बैंकहरुको नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) समेत बढेको छ।
अर्कोतिर राष्ट्र बैंकले नै २१ प्रतिशतको वार्षिक ऋण बढाउने लक्ष्यलाई घटाएर १२.६ प्रतिशतमा झारेको छ। नयाँ निक्षेप नआएका कारण बैंकहरुको ऋण दिने क्षमतामा पनि कमी आएको छ। त्यही कारण बैंकहरुले विगतमा जस्तो नाफा बढाउन नसकेका हुन्।
असोज मसान्तसम्म बैंकहरुले १८ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। पोहोर बैंकहरुले १७ अर्ब ७० करोड रुपैयाँ नाफा गरेका थिए।
वित्तीय विवरण अनुसार, प्राय बैंकको नाफा बढे तापनि समग्र उद्योगमा भने ह्रास आएको छ। नेपाल राष्ट्र बैंकले नोक्सानी व्यवस्थापनमा कडाइ गरेको छ। अर्कोतिर बढेको ब्याजले ऋण नतिर्नेहरु पनि थपिन थालेका छन्।
निक्षेपको बढ्दो लागत र ऋणको घट्दो आकारसँगै फी-कमिसन आम्दानीमा समेत गिरावट आएको छ।
यसबाहेक कोभिडका लागि राष्ट्र बैंकले दिएको सहुलियत सुविधा खोसिएका छन्। त्यसले गर्दा नोक्सानी व्यवस्थापनमा बैंकहरुको खर्च वृद्धि हुन गएको हो।
यद्यपि केही बैंकले भने नाफामा फराकिलो फड्को मारेका छन्। औसतमा वाणिज्य बैंकहरुले ७२ करोड रुपैयाँ नाफा कमाएका छन्। प्रथम त्रैमासको अन्त्यसम्म ६ वाणिज्य बैंकको खुद नाफा एक अर्ब रुपैयाँमाथि उक्लिएको छ। १० वटा वाणिज्य बैंक औसतभन्दा धेरै नाफा कमाउन सफल छन्।
प्रथम त्रैमासमा नाफा कमाउन एनआईसी एसिया बैंकले अन्यलाई पछि पारेको छ। बैंकले एक अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। एनआईसी एसियाको नाफा पोहोरभन्दा ४९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब १८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
नबिल बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ। नेपाल बंगलादेश बैंकलाई गाभेपछि बैंकले पहिलो पटक एकीकृत नाफा सार्वजनिक गरेको हो। असार मसान्तमा एकीकृत नाफा सार्वजनिक गरेको थिएन। नबिल दोस्रो धेरै नाफा कमाउने बैंक बनेको छ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा ४१ प्रतिशतको सुधार गरेको छ। पोहोर असोजमा बैंकले १ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको विवरणमा उल्लेख छ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भने नाफामा तेस्रो नम्बरमा छ। बैंकले प्रथम त्रैमाससम्ममा १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफामा साढे १८ प्रतिशतको वृद्धि देखिन्छ।
सबैभन्दा फराकिलो वृद्धिदर कुमारी बैंकले लिएको छ। पोहोर असोजको तुलनामा ८५ प्रतिशत बैंकको नाफा बढेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबीआई बैंकको नाफामा पनि ६८ प्रतिशतभन्दा धेरैको सुधार छ।
सनराइज बैंकको नाफा भने धेरै घटेको छ। साढे ६१ प्रतिशतले बैंकको नाफामा ह्रास आएको छ। पोहोर ४३ करोड कमाएको बैंकले अहिले साढे १६ करोड रुपैयाँ मात्र कमाएको छ। सनराइजसँगै १२ बैंकहरुको खुद नाफामा गिरावट आएको छ।
बैंक(रु हजारमा) | यसपालिको नाफा | पोहोरको नाफा | फरक प्रतिशतमा |
एनआईसी एसिया बैंक | 1,756,779 | 1,180,691 | 48.79 |
नबिल बैंक | 1,571,537 | 1,112,234 | 41.3 |
राष्ट्रिय वाणिज्य बैंक | 1,246,678 | 1,050,614 | 18.66 |
ग्लोबल आईएमई बैंक | 1,189,545 | 1,112,224 | 6.95 |
नेपाल इन्भेष्टमेन्ट बैंक | 1,140,597 | 923,795 | 23.47 |
कुमारी बैंक | 1,001,459 | 541,119 | 85.07 |
एनएमबि बैंक | 904,134 | 1,044,437 | -13.43 |
प्राइम कमर्सियल बैंक | 874,170 | 977,934 | -10.61 |
एभरेष्ट बैंक | 862,237 | 578,873 | 48.95 |
स्ट्याण्डर्ड चार्टर्ड बैंक | 811,397 | 481,847 | 68.39 |
प्रभु बैंक | 705,006 | 636,321 | 10.79 |
नेपाल एसबीआई बैंक | 627,357 | 372,911 | 68.23 |
नेपाल बैंक | 604,098 | 754,855 | -19.97 |
सानिमा बैंक | 548,220 | 567,860 | -3.46 |
हिमालयन बैंक | 532,475 | 452,853 | 17.58 |
एनसीसी बैंक | 516,836 | 518,057 | -0.24 |
मेगा बैंक | 509,169 | 914,686 | -44.33 |
लक्ष्मी बैंक | 503,472 | 552,870 | -8.93 |
सिटिजन्स बैंक | 501,215 | 687,399 | -27.09 |
सिद्धार्थ बैंक | 498,250 | 948,731 | -47.48 |
माछापुच्छ्रे बैंक | 451,183 | 561,536 | -19.65 |
सिभिल बैंक | 415,091 | 291,849 | 42.23 |
सेञ्चुरी कमर्सियल बैंक | 318,515 | 272,476 | 16.9 |
बैंक अफ काठमाण्डू | 280,615 | 253,477 | 10.71 |
कृषि विकास बैंक | 220,953 | 485,378 | -54.48 |
सनराइज बैंक | 165,827 | 430,716 | -61.5 |
कुल | 18,756,815 | 17,705,743 | 5.94 |