BIZMANDU
www.bizmandu.com

बढेको ब्याजले २ खर्ब ८५ अर्बको भुक्तानी दायित्व थपेको छ, विष्णुकुमार अग्रवालको विचार

२०७९ कात्तिक ७

बढेको ब्याजले २ खर्ब ८५ अर्बको भुक्तानी दायित्व थपेको छ, विष्णुकुमार अग्रवालको विचार
बढेको ब्याजले २ खर्ब ८५ अर्बको भुक्तानी दायित्व थपेको छ, विष्णुकुमार अग्रवालको विचार


जस्तोसुकै कठिन समयमा पनि दसैंतिहारमा राम्रो व्यापार व्यवसाय हुन्छ। अर्थतन्त्र सुस्ताएका बेलामा पनि दसैंतिहारले समग्र बजारलाई चलायमान बनाउँछ र आर्थिक वृद्धिमा टेवा पुर्‍याउँछ। विगतमा पनि हामीले कठिन समय देखेका-भोगेका हौं। त्यस्ता कठिनाइलाई दसैंतिहारसँगै आउने  उत्साहले अर्थतन्त्रलाई माथि लैजान सहयोग पुर्‍याउँथ्यो।

Tata
Global Ime

यसपटक अवस्था फरक छ। दसैंले कुनै पनि उत्साह ल्याउन सकेन। एफएमसीजी र वेभरेज (खाद्य तथा पेय) क्षेत्रमा केही चहलपहल भए पनि बाँकी कुनै पनि क्षेत्रमा त्यसले टेवा दिन सकेन। तिहारले पनि उत्साह ल्याएन। 

भन्नुको अर्थ, हामी विगतको भन्दा निक्कै कठिन अवस्थामा छौं। व्यवसायिक जगतले अहिलेको जस्तो मन्दी कहिले पनि भोग्नु परेको थिएन। अहिले सबै क्षेत्रको उत्साह मरेको छ। यसले हामीलाई ठूलै आर्थिक दुर्घटनामा पुर्‍याउँछ भन्ने लाग्न थालेको छ।

अहिले बैंकको ब्याज दर (निक्षेपसँगै ऋणको पनि) उच्च दरले बढिरहेको छ। बचतको ब्याज दर दोब्बरले उक्लिएको छ। ऋणको ब्याज दरले पनि  फराकिलो उचाइ लिएको छ। तरलता (लगानीयोग्य पुँजी) को चरम अभाव छ। बैंकबाट ऋण पाउने मात्र होइन, मागसमेत छैन।

सेयर बजार त्यसैगरी घटेको छ। बजार पुँजीकरण १८ खर्ब रुपैयाँले घटिसकेको छ। यो भनेको वास्तविक धनको क्षयीकरण हो। अर्कोतिर उद्योग  धन्दा क्षमताभन्दा निक्कै कम चल्न थालेका छन्। उत्पादनको माग नभएपछि उद्योगहरु चल्न छाडेका हुन्। खाद्य तथा पेय पदार्थ उत्पादक बाहेक सबै उद्योगको हालत खराब छ। यद्यपि खाद्य तथा पेयको ब्यापार नघटे पनि पहिलेजस्तो वृद्धि छैन।

निर्माण क्षेत्रका उद्योगहरुको उत्पादनमा ऐतिहासिक गिरावट आएको छ। सिमेन्ट, डन्डी मात्र होइन, रङरोगनदेखि हार्डवेयरसम्मको माग ऐतिहासिक रुपमा घटेको छ। अहिले घटेजस्तो माग पहिले कहिले पनि घटेको थिएन।

अहिले व्यवसायिक क्षेत्रले निक्कै ठूलो अप्ठेरो भोगिरहेको छ। एकातिर माग छैन, अर्कोतिर जति सामान बिक्री भएको छ त्यसको भुक्तानी हुन सकेको छैन। उदारोको चक्र झन्-झन् फराकिलो बन्दै गएको छ। किरानाले डिलरलाई, डिलरले वितरकलाई र वितरकले उत्पादकलाई भुक्तानी गर्न सकिरहेका छैनन्। भुक्तानी चक्र बिग्रिँदा औद्योगिक क्षेत्र झनै ठूलो मारमा परेको छ। 

अर्कोतिर बचत तथा ऋणको परिचालन गर्ने सहकारी संस्थाहरु समस्यामा पर्न थालिसकेका छन्। राष्ट्र बैंकले नियमन गर्ने लघुवित्त संस्थाहरुमा पनि ऋण उठ्तीको समस्या देखिन थालेको छ। यी सबै संकेतहरुले हाम्रो अर्थतन्त्र गम्भीर दुर्घटनातिर जाँदैछ भन्ने देखाउँछ। 

अप्ठेरो बेलामा  सरकारदेखि उसका अन्य निकायसम्मले निजी क्षेत्र तथा समग्र अर्थतन्त्रका 'प्लेयर' हरुलाई सहयोग गर्नु पर्छ। त्यो सहयोग गर्ने बेला भइसकेको छ। त्यसका लागि पहिले त लगानीयोग्य पुँजीमा सुधार गर्नै पर्छ। औद्योगिक उत्पादनको लागत घटाउनका लागि ब्याजदर तल झार्नै पर्छ। अहिले साना तथा मझौलादेखि ठूलासम्मका उद्योगहरु प्रभावित छन्। निश्चित आयआर्जन भएका मध्यम वर्गीय परिवार अर्को संकटमा छ।

पोहोरको तुलनामा अहिले ऋणको ब्याज दर ६-७ प्रतिशत बिन्दुले बढिसकेको छ। अहिले बैंकिङ प्रणालीमार्फत मात्र ४७ खर्ब  ५० अर्ब रुपैयाँ हाराहारी ऋण लगानी भएको छ। पोहोरको तुलनामा यसपालि ६ प्रतिशत बढी मात्र ब्याज तिर्दा पनि २ खर्ब ८५ अर्ब रुपैयाँ अतिरिक्त भार हुन्छ। अहिले अर्थतन्त्र  मन्दीमा गएका कारण कमाइ छैन। कमाएर नै २ खर्ब ८५ अर्ब रुपैयाँ तिर्ने हो। एकातिर कमाइ छैन, अर्कोतिर भुक्तानी गर्नुपर्ने दायित्व बढिरहेको छ। यसले ऋणीहरुलाई थप संकटमा परिरहेको छ।

निजी क्षेत्र संकटमा पर्नु भनेको राज्य पनि संकटमा पर्नु हो। निजी क्षेत्रले कमाइ गरेमा राज्यले राजस्व पाउने हो। अब राज्यको आयकरदेखि भन्सार तथा अन्तःशुल्क आम्दानी पनि घट्ने छ। सामान बिक्री हुन नसकेपछि अन्त:शुल्क पनि घट्ने छ। पोहोरको तुलनामा यसपालि सरकारले पाउने राजस्व घट्न थालिसकेको छ।

तरलताका कारण राज्य मात्र होइन आम जनजीवन पनि प्रभावित हुन थालिसकेको छ। संकटका बेलामा नयाँ लगानी हुँदैन। भएका व्यापार व्यवसाय पनि कम क्षमतामा चल्छन् वा बन्दै हुन्छन्। यस्तो बेलामा रोजगारी प्रभावित हुन्छ। पुँजी निर्माण हुँदैन, जसले गर्दा आर्थिक वृद्धि नराम्रोसँग प्रभावित बन्दछ। यो दुश्चक्रको असर यो वर्ष मात्र रहँदैन दीर्घकालसम्म रहन जान्छ। त्यसैले हामी ठूलो संकटमा पर्नुअघि समाधानका उपायमा जान आवश्यक छ।

अब राज्यका तर्फबाट निजी क्षेत्र तथा ऋणीका लागि प्याकेज आउन जरुरी छ। तरलता अभावको समस्या समाधान गर्नु पर्छ। ब्याज दर घटाउनु पर्छ। संकटका बेलामा ल्याइएको चालु पुँजी कर्जासम्बन्धि मार्गदर्शन केही समयका लागि पर सार्नै पर्छ। सामान्य अवस्था नरहेकाले अर्थतन्त्रलाई ध्वस्त पार्न सक्ने कदमहरु अहिलेलाई 'होल्ड' गर्नु राम्रो हुन्छ।

हामी अलिक गम्भीर भएनौं, खतरालाई मापन गर्न सकेनौं र अहिलेकै तालमा अगाडि बढ्यौं भने ठूलो संकटमा पर्छौं। म आगामी दिन सहज देख्दिन, संकट आँगनमै देखिइरहेको छ।