BIZMANDU
www.bizmandu.com

एमबीए सकेका दुई युवकको त्यो व्यवसायिक ‘टर्निङ प्वाइन्ट’

२०७९ कात्तिक ९

एमबीए सकेका दुई युवकको त्यो व्यवसायिक ‘टर्निङ प्वाइन्ट’
एमबीए सकेका दुई युवकको त्यो व्यवसायिक ‘टर्निङ प्वाइन्ट’


काठमाडौं। सयपत्री ढकमक्‍क छ। मखमली र गोदावरी फुलिरहेका छन्। फूलले वातावरण मोहक बनाएको ठाउँ हो ललितपुरको बडिखेलस्थित हिमालय फ्लोरीकल्चर फार्म। 

Tata
Global Ime

करिब १२ रोपनीमा फैलिएको फार्ममा टनेलहरूमा विभिन्न थरिका गुलाब तथा कार्नेसन लगायतका कट फ्लावर पनि फक्रिरहेका छन्। सँगैको अर्को टनेलमा इन्डोर प्लान्टहरू पनि ग्राफ्ट गराइएको छ। यहाँ पुग्नेले फूल र विरुवा अर्डर गर्न, किन्न सक्छन्। अर्डर गरेका फूल भनेको ठाउँमा डेलिभरी पाउन सक्छन्। 

हेर्दा रहर लाग्दो देखिने यो व्यवसाय हठातमा सुरु भएको होइन। दिनभर फार्मको रेखदेख तथा व्यवस्थापनमा व्यस्त हुन्छन्, पोखराका सबिन ढकाल र रुपन्देहीका निर्मल घर्ती। आफ्ना प्राध्यापकले एमबीएको कक्षाकोठामा सुनाएको आफ्नो कथाबाट प्रेरित भएर दुईले सुरु गरेको इन्टरनेट बेस्ड पुष्प व्यवसाय हो हिमालय फ्लोरीकल्चर।

पुष्प व्यवसाय गरिरहेका काठमाडौं उपत्यकाका थुप्रैको भीडमा केही फरक तरिकाले उभिएको छ यो व्यवसायिक फार्म। करिअर बनाउने जागिर र व्यवसायका सम्भावनाका अवसरहरूका बाबजुद २८ वर्षीय सबिन र निर्मल माटोसँग खेल्ने निर्णय सुरुमा सहज पटक्कै थिएन।

हिमालय फ्लोरिकल्चरको कथा यसरी सुरु हुन्छ – सन् २०१८ मा निर्मल र सबिन काठमाडौंको एक कलेजमा एमबीए गर्दै थिए। विद्यार्थीको यो जोडी उद्यम तथा उद्यमशीलता सम्बन्धि विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहन्थ्यो। दुवैको पारिवारिक पृष्ठभूमि कृषि सम्बन्धि थियो। तर स्कुल सके, कलेज पुगे, माटो खेलाउने नाताबाट टाढा भइसकेका थिए। 

तैपनि गुरुको कथाबाट प्रेरित भएर उनीहरू कृषिमा नै केन्द्रित भएर केही नौलो गर्ने सोच्न थाले। निर्मल र सबिन दुबै एमबीए चौथो सेमेस्टर थिए। एक दिन प्रोजेक्ट म्यानेजमेन्ट कक्षामा उनीहरूका प्रोफेसरले आफ्नो कथा सुनाए। ‘रघु सर नेपालमा कट फ्लावरको पायोनियर पनि हुनुहुन्छ। उहाँले आफू एमबीए गर्दैगर्दा आफ्नो धान खेती हुने जमिनमा कट फ्लावर, विशेषगरी गुलाबको फूलको खेती सुरु गर्नु भएको थियो। करिब २५ वर्ष अगाडि नै  उहाँले कट फ्लावरको बजार तथा सम्भावना देख्नुभएको थियो,’ निर्मलले सुनाए। 

दुवै साथीको कृषिमा नै केही गर्ने सोच त थियो तर कृषि जस्तो विशाल क्षेत्रमा ठ्याक्कै केमा हात हाल्ने भन्ने ठम्याउन सकेका थिएनन्। गुरुको कथाले उनीहरूको व्यवसायिक यात्रामा नयाँ बाटो खुलाइदियो। समय अलिकति पनि खेर नफाली उनीहरू आफ्ना प्राध्यापकको व्यवसायिक सोचलाई कार्यन्वयन गर्नतिर लागे। सुरुका करिब आठ महिना त उनीहरूले कट फ्लावर उत्पादन तथा बजारको अद्ययनमा नै खर्चिए।

‘हामी जे गर्न चाहन्थ्यौं त्यसको बजार निकै ठूलो थियो, साथै उत्पादनका लागि सोर्तहरू पनि प्रशस्तै रहेको बुझ्यौं। अभाव थियो त केवल यी दुईको उचित व्यवस्थापनको,' सबिन बताउँछन्, 'यसैमा काम गर्न हामी अघि सर्‍यौं।’

हिमालय फ्लोरीकल्चरको योजनालाई व्यवस्थित तरिकाले व्यवसायमा रूपान्तरण गर्न भने झण्डै दुई वर्ष लाग्यो। सन् २०२० मा  एमबीए उत्तीर्ण गरे लगत्तै सबिन अर्को व्यवसायमा व्यस्त भए भने घर्ती 'अन्तरप्रेरणा'मा काम गर्न थाले। 

निर्मल र सबिनका गुरुले दुई दशकअघि पुष्प व्यवसायमा देखेको सम्भावना अझै जीवित नै थियो। निर्मल सम्झन्छन्, ‘यो आइडिया हाम्रो दिमागमा रहिरहेको थियो। मैले जागिर छोड्ने निर्णय लिएसँगै सबिनलाई खबर गरेँ। त्यसपछि हामी दुवै मिलेर यस आइडियामा काम गर्ने निधो गर्‍यौं।’

उनीहरू सल्लाहका लागि फेरि आफ्नो गुरु रघु विष्टकहाँ पुगे। यात्रामा निर्मल तथा सबिनका प्रेरक रघु पनि आबद्ध भए।

यी दुई साथीको व्यवसायिक यात्रामा सिन्धुलीबाट आएर २० वर्षदेखि फूल खेतीमा स्थापित भएका केशव सुनुवार पनि जोडिए। सँगै युवा उद्यमीहरूसँग एक दशकदेखि नजिकबाट काम गरिरहेका अनिल पराजुली पनि एन्जल इन्भेस्टरको रूपमा जोडिए। 

२० लाखको  रुपैयाँको प्रारम्भिक लगानी जुटाएपछि निर्मल र सबिनले फार्मका लागि जग्गा खोज्न थाले। उपत्यकामा उपयुक्त जग्गा भेट्न कहाँ सजिलो हुन्थ्यो र ! निर्मल बताउँछन्, ‘एउटै ठाउँमा हामीलाई चाहिने जति जग्गा भेट्टाउन सकेनौं। कारण आवश्यक जग्गा एकै व्यक्तिको हुँदैनथ्यो। त्यस्तै जग्गाको दर जग्गाधनी अनुसार फरक पर्ने।’

अन्तत: दुई महिनाको संघर्षपछि पूर्वी ललितपुरको गोदावरी बडिखेलमा ५ रोपनी जग्गा पाए। त्यसपछि सुरु भयो हिमालय फ्लोरीकल्चर फार्म। फ्लोरीकल्चर निर्मल र सबिनका लागि पूर्णतया नयाँ उद्योग थियो। व्यवसायिकरूपमा काम सुरु भयो। इन्टरनेट तथा अरूको सल्लाहबाट फ्लोरीकल्चर बारे थेरथोर जाने पनि वास्तवमा फूल फार्म सञ्चालन गर्न निकै जटिल भएको उनीहरु बताउँछन्। 

उनीहरुको फार्ममा गुलाब, कार्नेसन र अन्य मौसमी फूलहरू जस्तै मेरीगोल्ड र क्राइसेन्थेमम जस्ता प्रमुख कट फूल प्रजातिहरू छन्। हिमालय फ्लोरीकल्चरमा एक भाग फार्म हो, जहाँ कट फ्लावर तथा इन्डोर प्लान्टहरू उत्पादन गरिन्छ र यसको अनलाइन भर्टिकल पनि छ।

स्थापनाको दुई वर्षमा हिमालय फ्लोरीकल्चरले आफ्नो प्रोडक्ट तथा सर्भिसहरू परिष्कृत गर्दै आएको छ। कट फ्लावर उत्पादनबाट सुरु भएको उक्त व्यवसायमा हाल इन्टरनेटबाट गिफ्ट तथा प्लान्ट एण्ड सर्भिस लगायतका सेवाहरू दिँदै आएको छ।

गिफ्ट अन्तर्गत फूलको पुष्पगुच्छा तथा प्लान्टहरू आफ्नो प्रियजनहरूलाई पुर्‍याउन सघाउँछ। गुलदस्ता तथा प्लान्टहरूसँगै आफ्नो भावना लिखित ग्रिटिङ कार्ड, चकलेट, केक तथा म्याकक्रेम ह्याङ्गरसहितका गिफ्ट प्याकेज पठाइदिने सुविधा पनि कम्पनीले दिइरहेको छ। यसका लागि कम्पनीले युरितो चकलेट, म्याडनट्स तथा क्याफे कोड्ससँग सहकार्य गर्दै आएको छ।

यस बाहेक, हिमालय फ्लोरीकल्चरले मालीको सेवा तथा विवाह, व्रतवन्ध लगायतका उत्सवहरूमा सजावटको पनि प्रदान गर्दै आएको छ। आफ्नो अफिसमा कर्पोरेट गिफ्ट प्याकेज, विशिष्ट व्यक्तिहरूको स्वागतका लागि वा कसैलाई पुरस्कृत गर्दा चाहिने गुलदस्ता तथा फूल सहितको प्लान्ट भेसलहरू पनि उपलब्ध गराउँछ। 

प्रिमियम, रेयर बिरुवाहरूलाई कसरी केयर गर्ने, केही समस्या आयो भने के गर्ने भनेर हिमालय फ्लोरीकल्चरले सल्लाह सुझाव दिने सेवा पनि सुरु गरेको निर्मल बुझाउँछन्।

हाल हिमालय फ्लोरीकल्चरमा सात जना खटिएका छन्। गत वर्ष १८ लाखको वार्षिक कारोबार गरेको यो व्यवसायिक फर्मले चालु वर्ष ५० लाखको लक्ष्य राखेको छ। व्यवसायले गति लिएको छ। दुवैले काम गर्दागर्दै पनि फ्लोरीकल्चरबारे धेरै कुरा अनुभवबाट सिकेका छन्।

‘फूल फुलाउनेदेखि तयार पारेर बजार पठाउनेसम्मका चरणमा धेरै समस्याहरू आउने रहेछन्, जसका लागि हामीले संयमित तरिकाले काम गर्नु जरुरी रहेछ,' सबिन भन्छन्, 'प्रतिकूल मौसम, बिरुवामा लाग्ने विभिन्न रोगकिराहरूले पनि निकै दुःख दिइरहेका हुन्छन्। त्यसलाई हामीले पूर्णतया हटाउन त सक्दैनौं। गर्न सक्ने भनेको सावधानी अपनाउने हो। त्यही गरिरहेका छौं।’

उनीहरुको व्यवसायले अहिले फलफूलका विरुवा रोप्ने, फुलाउने र बजारीकरण गर्नेसँगै फूलपातसँग जोडिएका व्यवसायलाई सञ्जालमा लिएका छन्। ‘हामी पहिलो पुस्ताका उद्यमीहरूको बिजनेस सेन्स विकास हुनलाई समय लाग्ने रहेछ। एकेडेमिक डिग्रीले केही हदसम्म मद्दत गरे पनि वास्तविक व्यवसाय सम्हाल्न अनुभव तथा उचित मेन्टरसिप नै चाहिने रहेछ,' निर्मल सुनाउँछन्, 'हामी अहिले पनि दिनहुँ सिक्दैछौं।’