काठमाडौं। पर्यटकको माग धान्नै मुस्किल भएपछि मुलुकमा संचालित हेलिकोप्टर कम्पनीलाई चुनावका लागि सेवा दिनै धौ-धौ परेको छ। चुनाव आउन करिब एक महिना बाँकी हुँदा पर्यटकबाट आइरहेको अग्रिम बुकिङले चुनावमा दिन कठिन भएको हो।
सिम्रिक, श्री एयर, कैलाश, प्रभु, एयर डाइनेष्टी, मुस्ताङ, हेलि एभरेष्ट, मनाङ, अल्टिच्युड लगायत विभिन्न हेलिकोप्टर पर्यटक बोक्न नै प्रयोग भइरहेका छन्। कोभिड नियन्त्रणमा आएसँगै तीन वर्ष पछि हेलिकोप्टर उद्योगमा उल्लेख्य माग आएको हो।
विदेशी पर्यटकको माग धान्नै धौ-धौ भएकाले चुनावी प्रयोजनका लागि आएको माग लिन नसकेको सिम्रिक एयरका चिफ एक्जिक्युटिभ मार्केटिङ अफिसर योगेश सापकोटाले बताए।
'एक-दुईवटा इन्क्वाइरी आएको थियो। तर, टुरिस्टको पिक सिजनका कारण हामीले चुनावी प्रचार प्रसारका लागि बुकिङ लिन सकिएन,' सापकोटाले भने, 'यो समयका लागि विदेशी पर्यटकबाटै आएको अग्रिम बुकिङ छ।'
हाल कम्पनीले चारमध्ये तीनवटा हेलिकोप्टरमार्फत उडान सेवा दिँदै आएको उनले जानकारी दिए। नोभेम्बरसम्मका लागि फुल बुकिङ भएका कारण चुनाव प्रचार प्रसारका लागि बुकिङ लिन कठिन भएको कैलाश हेलिकोप्टरका संचालक प्रतापजंग पाण्डेले बताए। 'पहिल्यै बुकिङ लिइसकेको फ्लाइटलाई पहिलो प्राथमिकतामा राखेका छौं। यो सँगै हामीले रेस्क्यु फ्लाइटलाई दिएका छौं। अरु बुकिङ लिनै गाह्रो छ,' उनले भने।
कम्पनीले तीनवटा हेलिकोप्टरमार्फत उडान सेवा दिँदै आएको छ। पर्यटकबाट आएको अत्यधिक मागका कारण आएका फाट्टफुट्ट आउने माग पुरा गर्न सम्भव नरहेको हेलि एभरेष्टका बजार प्रमुख सीताराम सापकोटाले बताए। 'अहिले पर्यटकलाई सेवा दिँदा नै भ्याइनभ्याइ छ। अब यस्तो समय पार्टीगत प्रचारप्रसारका लागि दिनभरी ग्राउण्ड टाइम खपत हुन्छ। जसले गर्दा पर्यटक लक्षित विभिन्न प्रयोजनका उडान प्रभावित हुन्छन्,' बजार प्रमुख सापकोटाले भने,'प्रचार प्रसारका लागि सजिलै हेलिकोप्टर पाउन गाह्रो छ।'
हाल कम्पनीले तीन मध्ये दुईवटा हेलिकोप्टरले उडान सेवा दिँदै आएको उनले जानकारी दिए।
यसैगरी हाल विदेशी पर्यटकको उल्लेख्य माग आएसँगै चुनाव प्रचारका लागि आएको माग पूरा गर्न नसकेको प्रभु हेलिकोप्टरका उप महाप्रबन्धक नोवलकुमार राजलावटले बताए।
'नोभेम्बर महिनाभर बुकिङ फुल भइसकेको छ। अर्को कुरा भनेको विगतमा जस्तो माग पनि आएको छैन। चुनावको माहोलमा एक ठाउँबाट अर्को ठाउँ पुर्याइने गरिन्थ्यो तर यो वर्ष खासै इन्क्वाइरी आएको छैन,' उनले भने।
हाल कम्पनीले कुल ६ मध्ये चारवटा हेलिकोप्टरमार्फत उडान सेवा दिँदै आएको उनले जानकारी दिए।
चुनाव प्रचार प्रसारकै लागि भनेर विगतमा जस्तो माग नआएको श्री एयरले जनाएको छ। 'विभिन्न पार्टीको आउजाउका लागि यतिखेर कुनै पनि माग आएको छैन। फाट्टफुट्ट इन्क्वाइरी आए पनि बुकिङ भने भएको छैन,' कम्पनी प्रवक्ता अनिल मानन्धरले भने।
विदेशी पर्यटकको माग वृद्धि भएसँगै चुनाव राजनीतिक पार्टीको प्रचार प्रसारका लागि सेवा दिन नसकेको एयर डाइनेष्टीका अपरेसन म्यानेजर वालकृष्ण पण्डितले बताए। 'पर्यटकलाई नै माग अनुसारको सेवा दिन गाह्रो छ। चुनावी प्रचार प्रसारका एक दुईवटा माग आए पनि सेवा दिन सक्ने अवस्था छैन,' उनले भने।
चुनावका लागि यो पटक खासै बुकिङ नआएको अल्टिच्युट एयरका संचालक निमा नुरु शेर्पाले बताए। 'अहिले रेस्क्यु र माउन्टेन फ्लाइटकै लागि आएको माग धान्न गाह्रो छ। अर्को भनेको प्रति महिना एउटा पाइलटलाई ७० घण्टाको मापदण्ड पालना गर्नुपर्ने भएका कारण माग पुरा गर्न गाह्रो छ,' उनले भने।
हाल कम्पनीले दुईवटा हेलिकोप्टर मार्फत उडान सेवा दिँदै आएको छ। सबै कम्पनीले नागरिक उड्डयन प्राधकरणको मापदण्ड अनुसार सात घण्टासम्म उडान गर्दै आएको जनाएका छन्।