BIZMANDU
www.bizmandu.com

नागरिक उड्डयन प्राधिकरणको जबरजस्ती, गौतमबुद्धबाट उडान नगरेको भन्दै एनएसीको दिल्ली उडान रद्द


नागरिक उड्डयन प्राधिकरणको जबरजस्ती, गौतमबुद्धबाट उडान नगरेको भन्दै एनएसीको दिल्ली उडान रद्द
नागरिक उड्डयन प्राधिकरणको जबरजस्ती, गौतमबुद्धबाट उडान नगरेको भन्दै एनएसीको दिल्ली उडान रद्द


काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संचालन नगरेको भन्दै नेपाल वायुसेवा निगमको दिल्ली तर्फको एउटा उडान रद्द गरेको छ।

Tata
Global Ime

प्राधिकरणले आफूले दिएको निर्देशन पालना नगरेको भन्दै आइतबार बिहान दिल्ली तर्फको उडान नै रद्द गरेको हो। योसँगै काठमाडौं- दिल्लीको १:४५ बजेको फ्लाइट रद्द भएको छ।

२ सय ४७ जनामध्ये एक सयजना कोड सेयरिङमार्फत जापान जाने यात्रु अलपत्र परेका छन्। 'एउटा सरकारी संस्थाले अर्को सरकारी संस्थालाई डुबाउने खेल भएको छ। हातेमालो गर्दै अगाडि बढ्नुपर्ने ठाउँमा यस्तो अवरोध सिर्जना खडा गराइदिँदा निगमसँगै मुलुककै छविमा आँच ल्याउने काम भएको छ,' निगमका एक अधिकारीले बिजमाण्डूलाई भने।

उडान रद्द भएपछि निगमका उच्च अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा र पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई जानकारी गराएका छन्। प्रधानमन्त्री देउवाले उडान रद्द नगर्न क्यानलाई निर्देशन दिइसकेको स्रोतले बतायो। क्यानले निगमबाहेक हिमालय एयरलाइन्सको पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान कटौती गरेको छ।

आइतबारबाट लागु गरिएको विन्टर सेड्युल अनुसार यी दुवै वायुसेवा कम्पनीलाई भैरहवाको जीबीआइएबाट दैनिक एक-एक वटा उडान गर्न निर्देशन दिइएको प्रवक्ता जगन्नाथ निरौलाले बताए।

योसँगै आउँदो डिसेम्बर १५ बाट फ्लाइ दुबई, एयर अरेबिया र कतार एयरवेजलाई पनि जीबीआइएबाट आफ्नो उडान सेवा संचालन गर्नका लागि प्राधिकरणले पत्राचार गरिसकेको उनले जानकारी दिए।

'टीआइएबाट दैनिक तीनवटा भन्दा बढी उडान गर्ने वायुसेवालाई जीबीआइएबाट पनि उडान गर्न निर्देशन दिइएको हो। पहिलो चरणमा हिमालय र नेपाल एयरलाइन्सलाई पत्राचार भइसकेको छ। विन्टर सेड्युल आइतबारबाटै कार्यान्वयनमा आएको छ,' उनले भने। 

प्राधिकरणले आइतबारबाट भैरहवाबाट उडान संचालन गर्न लिखित पत्राचार गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। सुरुमा एनएसी र हिमालयको उडान संचालन पछि अरु अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पनि अनिवार्य गराउने योजना रहेको उनले जानकारी दिए।

यी दुई कम्पनीले टीआइएमा गर्दै आएको तीन बराबर एक उडान गर्ने गरी पत्राचार गरेको उनले बताए। यो लागू नभएको अवस्थामा जीबीआइएबाट नियमित उडान सुरु गर्नका लागि हिमालयले पूर्व तयारी सुरु गरेको उपाध्यक्ष विजय श्रेष्ठले बताए।

मुलुककै अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण कम्पनीले आफ्नो तर्फबाट यथाशक्य छिट्टै उडान संचालन गर्ने योजना रहेको उनले जानकारी दिए।

'एयरपोर्ट संचालन एउटा व्यापार नै हो। व्यापारमा बिक्रीकर्ता र खरिदकर्ता दुवै सन्तुष्ट हुनुपर्‍यो। जबरजस्ती खरिद गर्नै पर्छ भन्ने त छैन,' उपाध्यक्ष श्रेष्ठले भने, 'हामी यो गन्तव्यबाट उडान गर्न सकारात्मक छौं। तर यात्रु पनि आइदिनुपर्‍यो।'