BIZMANDU
www.bizmandu.com

खराब कर्जाको सन्तुलन बिग्रिएपछि गुडविल फाइनान्सको नाफा ४६% घट्यो, आम्दानीमा छैन सुधार

२०७९ कात्तिक १४

काठमाडौ। चुलिएको खराब कर्जासँगै आम्दानी खुम्चिएपछि गुडविल फाइनान्सको नाफा ४६ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सको खुद नाफा ३ करोड ८४ लाख रुपैयाँमा सिमित रहेको विवरण सार्वजनिक भएको हो।

Tata
Global Ime

पोहोर सो अवधिमा फाइनान्सले ७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो। महँगो ब्याजदरका कारण ऋणको माग नै कम भएपछि संस्थाको खुद ब्याज आम्दानी सामान्य मात्र बढ्न सकेको छ। अर्को तर्फ फि तथा कमिसन आम्दानीमा उल्लेख्य गिरावट देखिन्छ।

असोज अन्त्यसम्म खुद ब्याज आम्दानी ५ प्रतिशत मात्र बढ्यो। तर फि तथा कमिसन आम्दानी ३८ प्रतिशतभन्दा धेरैले घटेको छ। सो अन्तरालमा फाइनान्समा निक्षेप ३ प्रतिशशत र कर्जा प्रवाह २.३८ प्रतिशत मात्र बढेको हो।

तरलता संकटका कारण फाइनान्सको खराब कर्जा ह्वात्तै बढेको पनि छ। फाइनान्सले कुल ४ करोड ७० लाख कर्जा जोखिम व्यवस्थापनमा लागि छुट्याएको देखिन्छ। जुन पोहोर एक करो ७३ लाख रुपैयाँ मात्र थियो।

नाफामा भारी गिरावट आएपछि संस्थाको वितरणयोग्य मुनाफा ऋणात्मक बन्न पुगेको छ। जुन पोहोर असोजमा ७ करोड ३६ लाख रुपैयाँ थियो। 

खुद नाफा घटेपछि प्रति सेयर आम्दानी पनि १६.२४ रुपैयाँमा सिमित छ। फाइनान्सको प्रति सेयर आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३०.१० रुपैयाँ थियो। 

सो अन्तरालमा फाइनान्सको चुक्ता पुँजीमा भने कुनै वृद्धि देखिँदैन। बरु सञ्चित मुनाफा भने ४० प्रतिशत बढेर ११ करोड ८९ लाख रुपैयाँ पुगेको छ भने जगेडा ४३ प्रतिशत घटेको छ।