काठमाडौं। कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले कुवेत-नेपाल चार्टर उडान सुरु गरेको छ। दुईतर्फी उडानका लागि करिब दुई महिनाअघि कूटनीतिक प्रक्रिया सुरु गरेको कम्पनीले सुरुवातमा चार्टर उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
सोमबारबाट चार्टर उडान सुरु गरेको कम्पनीले अबको एक महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
'कम्पनीले अहिले चार्टर उडान सुरु गरेको छ। अहिले पर्यटकीय सिजनसँगै अगाडि नै सेड्युल लिइसकेका कारण कारण टीआइएबाट उडान गर्न दिइएको छ। सिजनपछि यो कम्पनीलाई चार्टर उडानका लागि भैरहवा गन्तव्य कायम गरिनेछ,' प्रवक्ता निरौलाले भने, 'आउँदो डिसेम्बरबाट यो कम्पनीले भैरहवामै नियमित उडान गर्ने योजना पेस गरिसकेको छ। उडान तालिका प्रस्ताव आउन बाँकी नै छ।'
गत जेठबाट जीबीआआइएबाट आफ्नो व्यवसायिक उडान सुरु गरेको जजिराले हाल साताको तीन उडान गर्दै आएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साताको सातवटा उडान गर्दै आएको छ।
हाल भैरहवाबाट यो गन्तव्यमा कुवेतकै जजिरा एयरवेजले नियमित उडान गर्दै आएको छ। कुवेत एयरको नियमित उडान सुरु भएसँगै बजार थप प्रतिस्पर्धात्मक हुने प्राधिकरणले जनाएको छ। यसैगरी अबुधाबी बेस रहेको विज एयरले आफ्नो उडान मिति तत्कालका लागि स्थगित गरेको छ। नोभेम्बरबाटै जीबीआइएबाट नियमित उडान सुरु गर्ने योजना बनाएको कम्पनीले आगामी डिसेम्बरबाट उडान सुरु गर्ने जानकारी दिएको प्राधिकरणले जनाएको छ।
अबको डेढ महिनापछि भैरहवाको जीबीआइएबाट उडान गर्ने वायुसेवा कम्पनीको संख्या आधा दर्जन भन्दा बढी पुग्ने भएको छ। डिसेम्बर १६ बाटै प्राधिकरणले फ्लाइ दुबई, कतार एयरवेज, एयर अरेबिया लगायत वायुसेवालाई जीबीआइएबाट उडान गर्न निर्देशन दिइसकेको छ।
नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले पनि यो विमानस्थलबाट उडान सुरु गर्नकालागि प्रक्रिया सुरु गरिसकेका छन्।