BIZMANDU
www.bizmandu.com

राजधानीमा नयाँ अटो हब बन्दैछ नक्साल, शोरुम राख्ने कम्पनीहरु बढ्दै

२०७९ कात्तिक १५

राजधानीमा नयाँ अटो हब बन्दैछ नक्साल, शोरुम राख्ने कम्पनीहरु बढ्दै
राजधानीमा नयाँ अटो हब बन्दैछ नक्साल, शोरुम राख्ने कम्पनीहरु बढ्दै


काठमाडौं। माइतीघरबाट थापाथलीसम्म सडकको दायाँबायाँ गाडीका थुप्रै शोरुम छन्। तीन दशकअघि जसरी नेपालमा कार चढ्नेको संख्या कम थियो, त्यो बेलादेखि नै गाडी बिक्रेताहरुले शोरुम राख्न थापाथली क्षेत्र रोज्थे।

Tata
Global Ime

अहिले ब्रान्डहरु सँगै निजी गाडी प्रयोगकर्ताको संख्या पनि बढेकाले थापाथली नेपालको एउटा प्रमुख अटो हबका रुपमा विकास भएको छ। यहाँ अहिले दुई दर्जनभन्दा धेरै ब्रान्डका गाडीहरुको शोरुम छन्। ग्राहकहरु पनि गाडी खरिद गर्ने बेला पहिले थापाथली नै जाने गरेका छन्।

पछिल्ला केही वर्षदेखि त्यो लय नक्सालतिर विस्तार भएको छ। नक्साल पनि गाडीका शोरुमको हब बन्दै छ। नक्सालमा अहिले बीवाइडी, जीप, फक्सवागन, सिट्रोन, चांगन, सुजुकी, हुन्डाईसँगै अन्य स्थापित तथा चिनियाँ ब्रान्डका गाडी र बाइकका शोरुमहरु छन्। यस्तै स्थापित केही ब्रान्डहरुले नक्सालमा आफ्ना शोरुम खोल्नका लागि स्पेस खोजिरहेका पनि छन्।

टाटाका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदीको थापाथलीमा झकिझकाउ शोरुम छ। सिप्रदी अब नक्सालमा पनि शोरुम राख्ने तयारीमा रहेको कर्पोरेट ब्राण्ड एण्ड कम्युनिकेसन म्यानेजर रुपम श्रेष्ठले बताए। उनका अनुसार नक्सालमा अब गाडीका शोरुम चलाउन धेरै सजिलो भइसकेको देखिएको छ।

'थापाथलीमा अब पुरानाले स्पेस बढाउन सक्ने र नयाँले झट्ट ठाउँ पाउने अवस्था सहज छैन, पार्किङका पनि समस्या देखिन थालेका छन्,' उनले भने, 'गाडीका शोरुमहरुको मुख्य हब नै थापाथली हो। तर अबको वैकल्पिक हब भने नक्साल हुने देखिएको छ।'

श्रेष्ठले नक्सालमा अहिलेदेखि व्यवस्थित रुपमा शोरुम खोल्न थालिएको बताए। 'पार्किङदेखि बैंकिङ कारोबारमा नक्साल सहज हुँदै गएको छ। लोकेसनको हिसाबले पनि राम्रो ठाउँ छ,' उनले भने, 'यसैगरी टु ह्‍वीलरका लागि यो ठाउँ हब नै बनेको छ। बैंकिङ सेक्टरदेखि होटल तथा रेस्टुरेन्टहरु धेरै सञ्चालनमा आएका छन्। चहलपहल पनि बढ्दै छ।'

इभी बजारमा पहिचान बनाएको बीवाइडीले नक्साल अटोमोबाइलका लागि हब बन्ने देखिएकाले शोरुम विस्तार गरेको जनाएको छ। बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंककी निर्देशक यमुना श्रेष्ठले थापाथलीमा भन्दा नक्साल अबको दुई दशकका लागि गाडी बिक्री गर्ने राम्रो थलो बन्ने बताइन।

'यो ठाउँ वाकिङ डिस्ट्यान्सले पनि राम्रो छ। धेरै गाडी कम्पनीले नक्सालमा शोरुम राखेका छन्,' उनले भनिन् 'बैंकिङ सुविधाको लागि बैंकहरु छन्। पार्किङ समस्या छैन। त्यसैले ग्राहक पनि झन्झटमुक्त हुन्छन्।'

थापाथलीमा जस्तै नक्सालमा पनि चर्चित १० वटा ब्रान्डका सवारीसाधनका शोरुमहरु खुलिसकेका छन्। शोरुम राख्न कम्पनीहरुले धेरै खर्च पनि गरेका छन्। अहिले नक्सालमा सञ्चालनमा रहेका शोरुमहरु नयाँ 'स्टेट अफ द आर्ट' डिजाइनमा निर्माण गरिएका छन्।

यस्तै गाडी किनबेचका लागि मात्र नभइ नक्साल टेष्ट ड्राइभ गर्न पनि सहज छ। उपत्यकामा गाडी खरिद-बिक्री गर्नेहरुका लागि पछिल्लो समय यो ठाउँ रोजाइको बनेको छ।

'मानिसहरु १०/१५ वर्षको अवधिमा नयाँ टेष्टमा रमाउन कोसिस गर्दछन्। त्यसैले एडभान्स तथा नयाँ डिजाइनको गाडीहरु किन्ने गर्छन्,' श्रेष्ठले भनिन, 'त्यस्तै चहलपहल र लोकेसनलाई ध्यानमा राख्दै गाडी उत्पादक कम्पनीहरुले शोरुम राख्न ठाउँ खोज्छन्। त्यसैले काठमाडौंमा गाडीको कारोबारका लागि अबको हब नक्साल नै देखिएको हो।'

हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सबैभन्दा पहिला नक्सालमा आफ्नो शोरुम राखेको थियो। त्यसपछि बिस्तारै अरु कम्पनीहरु नक्सालमा सिफ्ट भइरहेको लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक दिपक थपलिया बताउँछन्।

उनका अनुसार थापाथलीमा शोरुमको लागि भनेर बनाइएको डेडिकेटेड स्ट्रक्चर छैन। 'थापाथली पुरानो अटो हब हो, घरलाई शोरुम बनाइएको छ,' उनले भने, 'गाडी बिक्रेताको गाइडलाइन अनुसारको शोरुमहरु निर्माण भएका छैनन्।'

पछिल्लो समय सवारी उत्पादक कम्पनीहरुले आफ्नो गाइडलाइन अनुसार शोरुमहरु बनाउन लगाउने गरेका छन्। थापाथलीका तुलनामा नक्सालमा खाली जग्गा उपलब्ध भएकाले गाडी बिक्रेताहरु यता सिफ्ट भइरहेको उनको भनाइ छ। 'नक्सालमा नयाँ शोरुम बनाउन खाली स्पेसहरु उपलब्ध छन्,' उनले भने, 'यो ठाउँ सिटीको केन्द्रमा पनि पर्छ।'

किन राखिन्छन् गाडीका शोरुमहरु एकै ठाउँ ?

ग्राहकहरुले गाडी खरिद गर्न जाँदा एउटै गाडी मात्र हेर्छु र किन्छु भनेर गएका हुँदैनन्। त्यसैले ग्राहकहरु एकै ठाउँमा धेरै ब्रान्ड गाडीहरु हेर्न तथा टेष्ट ड्राइभ गर्न रुचाउँछन्। त्यसैले अटो व्यवसायीहरुले शोरुम सकेसम्म एकै ठाउँमा निर्माण गर्न खोज्छन्।

सहरी क्षेत्रका बासिन्दा हिजोआज धेरै पसल चहारेर किनमेल गर्न चाहदैनन्। सामान्य दैनिक उपभोगका सामान किन्नलाई सुपर मार्केट जान रुचाउँछन्। किनभने त्यहाँ एकै ठाउँमा सबैथोक खरिद गर्न पाइन्छ। त्यसैले विभिन्न गाडी बिक्रेताहरुले पनि सकेसम्म एकै ठाउँमा शोरुम सञ्चालनमा ल्याउने गरेका छन्। यसले ग्राहकलाई गाडी रोज्न र खरिद गर्न सहज र फाइदा हुन्छ।

यस्तै गाडी बिक्रेताहरु पनि एकै ठाउँमा शोरुम हुदा सबैलाई फाइदा हुने बताउँछन्। मानिसहरु गाडीको शोरुम फरक-फरक लोकेसनमा हुँदा भिजिट गर्न जानै झन्झट मान्ने गरेको व्यवसायीहरुको भनाइ छ। ग्राहकहरुले एक ठाउँमा आफ्नो सवारी पार्किङ गरेर सबै गाडीको शोरुम भिजिट गर्न धेरै रुचाउने बीवाइडी नेपाल साइमेक्स इंककी निर्देशक श्रेष्ठ बताउँछिन्।