BIZMANDU
www.bizmandu.com

अनुमतिको दुई वर्षपछि हिमालय एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ थाल्दै, थपिए प्रतिस्पर्धी

२०७९ कात्तिक १५

अनुमतिको दुई वर्षपछि हिमालय एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ थाल्दै, थपिए प्रतिस्पर्धी
अनुमतिको दुई वर्षपछि हिमालय एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ थाल्दै, थपिए प्रतिस्पर्धी


काठमाडौं। नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको दुई वर्षपछि हिमालय एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ सेवा सुरु गर्ने भएको छ।कम्पनीले दुई वर्ष अघि पाएको अनुमतिका आधारमा प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिन लागेको एक अधिकारीले बताए।

Tata
Global Ime

'यो कम्पनीले दुई वर्ष अगाडी नै ग्राउण्ड ह्याण्डलिङको अनुमति पाइसकेको थियो। कोभिडको समयमा नेपाल वायुसेवा निगमको आम्दानीमा आँच आउने भएका कारण केही समयका लागि प्रक्रिया स्थगित गरिएको थियो। उड्डयन उद्योग सामान्य अवस्थामा आएसँगै यो प्रक्रिया पुनः सुरु गर्न लागिएको हो।'- ती अधिकारीले बिजमाण्डूसँग भने।

हिमालयलाई ग्राउण्ड ह्याण्डलिङ सेवा संचालन गर्न दिइएसँगै यो सेवा थप प्रतिस्पर्धी हुने उनले जानकारी दिए। हिमालयको सेवाका आधारमा निकट भविष्यमा संचालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवाका लागि पनि दर्खास्त आह्वानमा सहभागी गराउन सकिने उनले बताए।

'अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवाको जिम्मा एक वर्षका लागि नेपाल वायुसेवा निगमलाई दिइएको छ। निगमको तुलनामा सेवा राम्रो भएको अवस्थामा अरु विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा हिमालयलाई दिन सकिनेछ।'-उनले भने।

प्राधिकरणका अनुसार ग्राउण्ड ह्याण्डलिङ सेवा सुरु गर्नका लागि कुनै पनि कम्पनीलाई तयारीका लागि करिब सात महिना लाग्नेछ। यो सेवा अन्तर्गत कम्पनीले यात्रुको बोर्डिङ, चेक-इन, ब्यागेज, कार्गो ट्रली, र्‍याम्प बस लगायत सेवा दिनुपर्नेहुन्छ।

सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिनका लागि हिमालयले आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको जनाएको छ। अन्तर्राष्ट्रिय चलन अनुसार होम बेस एयरलाइन्सले सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न सक्ने व्यवस्था छ।

यो कम्पनीले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सँगै कमर्सियल ग्राउण्ड ह्याण्डलिङ सेवा दिने योजना बनाएको जनाएको छ।

कम्पनीले दिगो व्यावसायिक योजनाअनुसार भैरहवाबाट गर्न सकिने उडानका सम्भावना अध्ययन गरिरहेको जनाएको छ।

हिमालयलाई अनुमति दिँदा सरकारी कम्पनी नेपाल वायुसेवा निगमको आम्दानी खोसिने भन्दै दुई वर्ष अघि विरोध गरेको थियो। ग्राउण्ड ह्याण्डलिङ सेवाबाट निगमले वार्षिक साढे चार अर्ब रुपैयाँसम्म आम्दानी गर्दै आएको थियो।