काठमाडौं। चुनावी माहोल नजिकिएसँगै सेयर बजारले सकारात्मक प्रतिक्रिया दिन सुरु गरेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव आउन १९ दिन बाँकी रहँदा परिसूचकले मंगलबार ५६ अंकको फड्को मार्यो।
२९८० बाट फर्किएको परिसूचक झन्डै एक वर्षदेखि डाउन ट्रेन्ड मै थियो। तर चुनावी माहोललाई पुँजी बजारले लगातार हरियालीसहित स्वागत गरिरहेको छ।
सूचकले उच्च किनबेचको साथ समेत पाउँदा लगानीकर्ता माझ बजारको वृद्धि दिगो हुने चर्चा सुरु भएको छ। लामो समय बजारको गिरावटबाट निरुत्साहित लगानीकर्तामा निर्वाचनले उत्साह फर्काएको अनुभवीहरुको टिप्पणी छ।
अहिले बैंक तथा वित्तीय संस्थामा पैसा नभएका कारण सेयर बजार निरन्तर ओरालो लागिरहेको छ। तरलताको संकट पनि गहिरिँदा ब्याजदरले फराकिलो छलाङ लिएको छ। तर चुनावपछि भने बैंकिङ प्रणालीभन्दा बाहिर रहेको पैसा भित्रिने अपेक्षासहित बजार उकालो लागेको हो।
'निर्वाचनअघि सेयर बजारको वृद्धि बारेमा अन्योल नै छ। विगतमा निर्वाचनसँगै सेयर बजार उकालो लागेको उदाहरण थुप्रै छन्,’ बजारका सक्रिय एवम् अनुभवी एक लगानीकर्ताले बिजमाण्डूसँग भने, 'मसान्तको प्रेसर सकिएको छ। खर्चिला चाडपर्वहरु पनि लगभग अन्त्य भइसकेका छन्। चुनावी माहोलले सक्रियता पाउँदा बजारमा ऊर्जा उत्पन्न हुनु स्वभाविक हो।'
निर्वाचनअघि सकारात्मक प्रतिक्रिया देखाउने गरेको सेयर बजारमा यसपटक पनि उत्साह देखिएको हो। अघिल्ला निर्वाचनमा पनि राजनितिक पर्वको माहोल नजिकिएलगत्तै सेयर बजारमा पनि लगानीकर्ता आफ्नो सक्रियता जनाउने गर्थे।
चुनावमा सरकारी मात्रै होइन उम्मेद्वारले समेत बढी खर्च गर्छन्। खर्च भएको केही रकम बैंक तथा वित्तीय संस्थामा फर्किने गर्छ। विकास खर्चलाई पनि सत्तारुढ दलले यो समयमा मत तान्ने रणनीतिको रुपमा उपयोग गर्दा खर्च गर्ने क्रमले तीव्रता पाउँछ। चुनावले आर्थिक क्षेत्र चलायमान हुने र प्रणालीमा समेत पैसा आउने भएकाले बजारले सकारात्मक बाटो तय गर्ने गर्छ।
चुनावबाहेक पहिलो त्रैमास तथा लाभांशको उत्साह पनि सेयर बजारमा देखिएको छ। अघिल्लो वर्षको लगानीले फल दिने समय हो। यसले केही रकम सेयर बजारमा पनि फर्किने भएकाले बजार उकालो लाग्ने गर्छ।
लाभांश क्षमतामा आधारमा छानीछानी लगानी रोजिन्छ। यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासको उत्साह बेग्लै हुन्छ। आफ्नो कम्पनीको पर्फमेन्सले लगानीकर्ताको कौतुहलतालाई बढाउँदै लैजान्छ। त्रैमासिक विवरणअघि नै बजारमा किनबेच बाक्लिने हो। र बजारमा उत्साह फर्किने गर्छ।
एकपछि अर्को कम्पनीले लाभांश घोषणा गर्दा प्रतिफलमय भइ उचालिने सेयर परिसूचकको गतिविधि यसपटक उत्साहपूर्ण रहने दाबी अनुभवीहरुको छ। यसैदौरान दर्जनौं कम्पनी पोहोरभन्दा आधा मूल्यमा ओर्लिएका छन्। यो मूल्यमा किन्न चाहनेहरुको तादात पनि बढ्दा बजारमा खरिदचाप बाक्लिएको हो।