काठमाडौं। चिया जस्तै तर हाम्रो परम्परागत चियाभन्दा फरक स्वादको 'एका कम्बुचा' पिउनु भएको छ? काठमाडौं र पोखरामा यसबारे थाहा पाएकाहरु डिपार्टमेन्टल स्टोरबाट खरिद गर्न अभ्यस्त छन्। थाहा नभएकाहरुका लागि भने नितान्त नौलो नै छ। दुई नेपाली युवकले उद्योग नै खोलेर यो उत्पादन बजारमा पठाइरहेका छन्। यसबारे थाहा पाउन अघि प्रख्यात किंवदन्तीले मद्दत गर्छ।
यो प्राचीनकालमा जापानका सम्राट इन्क्यो निकै बिरामी परे। उपचारमा धेरै जना वैद्यहरू खटिए, धैरै औषधिहरू प्रयोग गरियो। तर, स्वास्थ्यमा सुधार देखिएन। यो खबर कम्बु नामक कोरियन चिकित्सक कहाँ पुग्यो। उनले चियालाई फेर्मेन्ट (गुन्द्रुक जसरी अमिल्याउने प्रक्रिया) गरेर सम्राटलाई पिलाए। त्यो खुवाउँदा इन्क्यो निको भए।
आरोग्यताका लागि उपयोगी मानिएको उक्त चियाले प्रसिद्धी पायो। पछि ‘कम्बु’को नामबाट त्यो चियाको नाम नै कम्बुचा राखियो। उत्तरपूर्वी चीनमा ईसापूर्व करिब २२० तिर उत्पत्ति भएको कम्बुचाको महिमा जापानमा पनि फैलियो। कम्बुचा ‘एलिक्जिर अफ इम्मोर्टालिटी’(अमर बन्न अमृत)को रूपमा प्रख्यात थियो। अधिकांश राजाहरूले कम्बुचा पिउने गर्थे। चियाले दीर्घ जीवन दिन्छ/दिँदैन भन्नेमा बहस हुन सक्छ। तर, उक्त चियाले प्रसिद्धी त्यही रूपमा पायो।
२० औं शताब्दीको प्रारम्भमा व्यापारमार्ग विस्तारको फलस्वरूप कम्बुचा युरोप तथा अमेरिकी देशहरूमा पनि पुग्यो। अमेरिकामा यसको औद्योगिक उत्पादन सुरु भएसँगै कम्बुचाको उपभोग र महत्त्व पनि विश्वभर विस्तार हुँदै गयो। अहिले यो संसारका अधिकांश मुलुकमा पुगेको छ। नेपालमा पनि पाइन्छ, भित्र्याएका हुन् दुई साथी अमित क्षेत्री र संजय श्रेष्ठले।
भामिशा फुड एण्ड बेभरेज अन्तर्गत उनीहरुले 'एका कम्बुचा' नेपाली उपभोक्ताका लागि बजारमा ल्याएका छन्। संजय बुझाउँछन्,’कम्बुचा एक यो प्रोबायोटिक ड्रिंक हो। यसलाई बनाउन हामीले चियालाई फेर्मेन्ट गरेर त्यसमा फ्लेवरहरू मिसाउँछौं। यो हामीले एकदमै प्राकृतिक तरिकाले कुनै पनि केमिकल तथा प्रिजर्भेटिभ्सको प्रयोग नगरी नै बनाउँछौं।’
हुन त उनीहरुले सुरु गर्नुअघि कम्बुचा नेपालमा नबनेको, बिक्री वितरण नभएको भने होइन। कम्बुचा उपत्यकाका ठमेल, झम्सिखेल र पोखराको लेकसाइड जस्ता एकदम प्रिमियम ठाउँहरूमा मात्रै पाइने गर्थ्यो। त्यो पनि यसबारे बुझेका केहीले घरमा नै सामान्य तरिकाले बनाएर बेचिरहेका थिए।

'एका कम्बुचा'मा अरू कम्बुचाभन्दा फरक के छ भन्दा अमित भन्छन्, ‘हाम्रो कम्बुचा पहिलो कम्बुचा हो जुन ६ महिनासम्म मज्जाले स्टेबल रहन्छ। सामान्यत: अरू कम्बुचा एक/दुई महिनाभन्दा बढी टिक्दैनन्। त्यस्तै हाम्रो कम्बुचा गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) सर्टिफाइड पनि छ।’
साथै एका कम्बुचाको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण पनि गराएर दर्ता भएको उनीहरूको भनाइ छ। काठमाडौंका अमित क्षेत्री र संजय श्रेष्ठ ११ पढ्दादेखिका साथी हुन्। अमित ७ वर्षदेखि फर्मा उद्योगमा रिसर्च वैज्ञानिकका रूपमा काम गरिरहेका थिए। संजय भने जापानमा होन्डा कम्पनीमा डिजाइनर इन्जिनियर थिए।
संजय नेपाल फर्केर आइसकेपछि दुईजना मिलेर के गर्ने भन्नेमा कुरा भइरहेको थियो। त्यतिबेला नै कोभिड महामारी पनि फैलियो। अमित सम्झन्छन्, ‘संजयलाई उनको एक जना साथीले ब्याक्टेरियल प्रोडक्टको बारेमा भन्नुभएको रहेछ। उहाँहरूले ब्याक्टेरियल रिसर्चबाट चाहिँ विभिन्न प्रोडक्टहरू बनाउन मिल्छ भन्ने कुरा अगाडि राख्नु भयो।’ आफू फर्मा पृष्ठभूमिबाट भएकाले अमितलाई यो कुरामा निकै चासो लग्यो।
के रहेछ भनेर बुझ्दाखेरि उनले कम्बुचाको बारेमा थाहा पाए। सोधीखोजी गर्दै जाँदा उनलाई नेपालमा सीमित बजार र अन्तर्राष्ट्रिय बजारमा ठूलो ठाउँ रहेको ज्ञात भयो।

हाल कम्बुचाको अन्तर्राष्ट्रिय बजार मात्रै १० अर्ब अमेरिकी डलर बराबरको रहेको प्रक्षेपण गरिएको छ। अमेरिकामा मात्रै कम्बुचाको मार्केट करिब ७ अर्ब डलरको छ। ‘यसको राम्रो बजार देखेपछि नेपालमा किन नगर्ने त? त्यसमा पनि यो निकै संवेदनशील प्रोडक्ट हो। केही सीमित ठाउँमा कम्बुचा बनाएर बेचे पनि एकदम लापरवाह तरिकाले गरिरहेका थिए। कोभिडको समय पनि थियो, मानिसहरू स्वस्थ्यप्रति निकै सचेत थिए, हेल्दी प्रोडक्ट खोजी भइरहेको देखियो,’ उनले भने।
बजारको राम्रो सम्भावना देखेका अमित र संजय कम्बुचा बनाउनतिर लागे। लाजिम्पाटमा कोठा लिएर सानो भाडोमा २० लिटरको ब्याच बनाएको अमितलाई अझै याद छ। एका कम्बुचा उत्पादनमा सुरुवाती लगानी पाँच लाख रुपैयाँ लागेको अमित बताउँछन्।
‘हामी दुवै जना मध्यमवर्गीय परिवारबाट हौं, लगानी गर्न धेरै पैसा थिएन। त्यसमाथि पनि हामी कुनै व्यापारिक पृष्ठभूमिबाट थिएनौं। हामी आफ्नै बचतलाई उपयोग गर्दै एका कम्बुचा उत्पादनमा लाग्यौं,’ अमितले सुनाए।

उनी थप्छन्, ‘सुरुमा सही मात्रा नमिलेर १०० लिटर जतिको कम्बुचा त हामीले फ्यालेकै छौं। कम्बुचा बनाउनलाई करिब २५ दिनसम्मको समय लाग्छ। उचित तापक्रमदेखि कमिला, भुसुना जस्ता बिभिन्न किराहरूबाट जोगाउनुपर्ने हुन्छ। सही मात्रा मिलेन भने कन्ट्यामिनेसनको जोखिम पनि त्यतिकै हुन्छ।’
त्यसैले पनि कम्बुचा नियन्त्रित वातावरणमा बनाइन्छ र यसलाई चिसो ठाउँमा राख्नु पर्दछ। कम्बुचा उत्पादनको अभ्यासमा पोख्त हुन नै करिब ६ महिना लागेको उनको अनुभव छ।
सन् २०२० अक्टोबरमा थर्ड पार्टी ल्याबले प्रमाणित पनि गरेपछि अमित र संजयले एका कम्बुचा बजारीकरणको औपचारिक सुरुवात गरे। सरकारको गुणस्तर विभागका अधिकारीहरुलाई यो नयाँ उत्पादन हो भनेर बुझाउन केही समय लाग्यो। ग्राहकलाई विश्वस्त बनाउन सुरुमा थर्ड पार्टी ल्याब प्रमाणीकरण गरिएको थियो।

महिनामा मुस्किलले ४०/५० बोत्तल बिक्री हुन्थ्यो। सुरुको एक वर्ष त आर्थिक हिसाबले निकै कठिन भएको उनीहरू बताउँछन्। यसको मुख्य कारण, जहाँ जहाँबाट यो बिक्री हुनुपर्ने थियो, त्यहाँ बुझेका ग्राहक नै कम थिए। स्वाद त फरक थियो नै, मूल्य पनि नेपाली बजारका लागि नौलो थियो। खानेकुरामा नौलो स्वाद खोज्नेहरुलाई बुझाउने, विभिन्न मार्केट प्लेसहरू र इभेन्टहरूमार्फत ग्राहकहरूलाई कम्बुचा चाख्न लगाएर जब प्रचार थालियो, विस्तारै यसले बजारमा ठाउँ बनाउन थाल्यो।
अहिले यसको आफ्नै बजार छ। स्वाद मन पराएकाहरु नियमित ग्राहक छन्। एका कम्बुचा प्रति बोत्तल २५० रुपैयाँ पर्छ।
‘फेर्मेन्ट गरिएको उत्पादन भएकाले यसलाई सिसाको बोत्तलमा प्याक गर्नुपर्छ। यसलाई तयार पार्न लाग्ने समय, प्रक्रिया र जोखिमले गर्दा पनि यसको मूल्य हामीले धेरै सस्तो बनाउन सकेनौं,' अमित भन्छन्। कम्बुचाको बारेमा उपभोक्तामाझ जानकारी पुर्याउन र बुझाउने कामलाई अमित र संजयले अझैसम्म निरन्तरता दिइरहेका छन्।

‘फूड इन्फ्लुएन्सरहरूको माध्यमबाट साथै विभिन्न मार्केट प्लेसहरू, इभेन्टहरूमार्फत ग्राहकहरूलाई कम्बुचा टेस्ट गर्न लगाएर, यसको बारेमा बुझाउने गरेका छौं,’ अमितले सुनाए। एका कम्बुचालाई डिपार्टमेन्टल स्टोरको सञ्जाल मिनिसोले पनि बजारीकरणमा केही हदसम्म सहयोग पुर्याएको उनी बताउँछन्। बजारमा ल्याएको करिब पाँच महिनापछि नै एका कम्बुचाको स्टल मिनिसोमा राख्न थालियो। त्यहाँ हुँदा महिनाको ५०० बोत्तल जति बिक्री भएको अमित सम्झन्छन्।
भामिशा फुड एण्ड बेभरेज अन्तर्गत प्रोबायोटिक ड्रिंक (एका कम्बुचा), फङ्सनल फुड, र मेडिकल फुड (एदा) प्रोडक्टहरू छन्। जसमध्ये एका कम्बुचा बजारमा लन्च भइसकेको छ भने अरू टेस्टिङको प्रक्रियामा रहेको अमित बताउँछन्।
एका कम्बुचा ५ स्वाद पाइनापल, लेमन मिन्ट, स्ट्रबेरी, क्यामोमाइल र ब्लु जिन्जरमा सेल्सबेरी, केके मार्ट, एसटुएस मार्ट, निनाज एण्ड ह्यागर लगायतका स्टोरहरूमा उपलब्ध छ। यसको कारखाना सेटअप गर्न र अहिलेसम्मको उत्पादनमा करिब ८० लाख जति लगानी भइसकेको अमित बताउँछन्।

भक्तपुरको लोकन्थलीमा भमिशा फुड एण्ड वेभरेजको फ्याक्ट्री छ। त्यहाँ फिलिङ मेसिनबाहेक सबै उपकरणहरू स्थानीयस्तरमै जुटाएको उनीहरू बताउँछन्। कारखानाबाट हाल एका कम्बुचा महिनामा करिब ५ हजार बोत्तल उत्पादन भइरहेको छ।
अमित योजना सुनाउँछन्, ‘हामीले अझै थप १० हेल्दी प्रोडक्टहरू बजारमा लन्च गर्ने तयारी गर्दैछौं। अब आउने समरमा मासिक ६ हजार बोत्तल एका कम्बुचा बिक्री गर्ने हाम्रो लक्ष्य छ।’