काठमाडौं। खुद ब्याज आम्दानी शतप्रतिशत बढाएको फर्स्ट माइक्रोफाइनान्सको नाफाले ६२ प्रतिशतको छलाङ मारेको छ।
माइक्रोफाइनान्स चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको हो। पोहोर सो अवधिमा लघुवित्तको नाफा ३ करोड ९४ लाख रुपैयाँमा सिमित थियो।
वर्षको पहिलो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार छ। थोक कर्जा प्रवाह गर्ने यस लघुवित्तले तीन महिनामा १२ करोड रुपैयाँ ब्याज आम्दानी संकलन गरेको हो। पोहोर असोज अन्त्यसम्म यस्तो आम्दानी ६ करोड रुपैयाँमा सिमित थियो।
लघुवित्तको उधारो र कर्जा प्रवाह भने पोहोर भन्दा सुस्त छ। उधारो साढे २ प्रतिशत घट्दा ऋण ०.३१ प्रतिशत घटेको हो।
यस अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ३४ लाख रुपैयाँ छ। र खुद नाफा बढे लगत्तै प्रति सेयर आम्दानीले पनि फड्को मारेको देखिन्छ।
पोहोर असोज मसान्तमा १६.३५ रुपैयाँमा सिमित प्रति सेयर आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६.४५ रुपैयाँ पुगेको हो।