BIZMANDU
www.bizmandu.com

आयल निगमले यो पटक पनि पेट्रोल र डिजेलको मूल्य नघटाउने, आईओसी र सरकारलाई २९ अर्ब तिर्न बाँकी

२०७९ कात्तिक १७

आयल निगमले यो पटक पनि पेट्रोल र डिजेलको मूल्य नघटाउने, आईओसी र सरकारलाई २९ अर्ब तिर्न बाँकी
आयल निगमले यो पटक पनि पेट्रोल र डिजेलको मूल्य नघटाउने, आईओसी र सरकारलाई २९ अर्ब तिर्न बाँकी


काठमाडौं। नेपाल आयल निगमले यो पटक पनि पेट्रोल र डिजेलको मूल्य नघटाउने भएको छ। निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न निगमलाई अझैपनि चुनौतीपूर्ण अवस्था रहेको भन्दै हाललाई मूल्य नघट्ने जनाएको हो।

Tata
Global Ime

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको कारणले विगत लामो समयदेखि निगम निरन्तर नोक्सानीमा संचालन भएको हुँदा निगमले ईन्डियन आयल कर्पोरेशन लिमिटेड र नेपाल सरकारलाई अझै २९ अर्ब ११ करोड तिर्न बाँकी रहेको निगमले जनाएको छ।

निगमका अनुसार पछिल्लो पटक १६ अक्टोबर, २०२२ मा आईओसीबाट निगमलाई आएको नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल लगायत अन्य पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। मूल्य बढेर आएपनि एक महिनादेखि २० महिनाको लामो अन्तरालपछि निगम केही नाफामा रहेको निगमले जनाएको छ।

आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रति लिटर ०.६१, डिजेलमा प्रति लिटर ५.७६, मट्टितेलमा प्रति लिटर ४.०१, हवाई इन्धनमा प्रति लिटर ४.७७ रुपैयाँले बढेर आएको छ।

तर ग्यासमा भने केही घटेर आएको छ। घटेर आएको मूल्य अनुसार ग्यासमा अझै सिलिन्डरमा २२८.८४ रुपैयाँ घाटा रहेको छ। यसैगरी डिजेलमा प्रति लिटर १२.१४ रुपेयाँ घाटा छ। पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफाले ग्यासको र डिजेलको घाटा परिपूर्ति गर्दा निगमलाई समग्रमा आगामी १५ दिनमा करीब १८ करोड मात्र नाफा हुने निगमले प्रक्षेपण गरेको छ।

पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न आईओसी र सरकारसँग व्यवस्था गरिएको २९ अर्ब ११ करोड रुपैयाँ तिर्न बाँकी रहेको निगमले जनाएको छ। ऋण तिर्नलाई निगमलाई अझैपनि चुनौतीपूर्ण अवस्था रहेको भन्दै हाललाई मूल्य यथावत राखिने निगमले जनाएको छ।