काठमाडौं। बैंकले ब्याज बढाएपछि व्यवसायी आन्दोलित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसहितको टोलीले आज माइतीघरबाट आन्दोलन थालेका छन्।
उपाध्यक्ष अन्जन श्रेष्ठ, अर्का उपाध्यक्ष रामचन्द्र संघइ तथा दिनेश श्रेष्ठसहितको टोली ब्याज वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्। महासंघ अन्तर्गतका अन्य संगठनहरु पनि आन्दोलनमा छन्।
व्यवसायिक संगठनहरुले ब्याज वृद्धिले निक्कै अप्ठेरो भएको भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर घटाउन माग गरेका थिए। राष्ट्र बैंकले ब्याज घटाउनेतर्फ पहल नगरेको भन्दै व्यवसायीले आन्दोलन थालेका हुन्।
प्रदेश नम्बर १ बाट सुरु भएको आन्दोलन काठमाडौं छिरेको हो। होटल संघ नेपालले पनि ब्याज वृद्धिको विरोध गर्दै गभर्नरलाई ज्ञापनपत्र बुझाएको छ।

राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत सबै नीतिगत दरहरु बढाएको थियो। यसले गर्दा बैंकहरुले पनि ब्याज बढाएका छन्।
बैंकहरुको ऋण उपलब्धता घटाउन विभिन्न नीतिमा समेत खेलेको छ। यसले गर्दा ब्याज वृद्धि त भएकै छ ऋणको उपलब्धता पनि घटेको छ।