काठमाडौं। खुद ब्याज आम्दानीमा आएको सुधारले छिमेक लघुवित्तको नाफा ५४ प्रतिशत बढेको छ। लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको हो।
पोहोर सो अवधिमा संस्थाको नाफा २१ करोड ४१ लाख रुपैयाँमा सीमित थियो। असोज अन्त्यसम्म लघुवित्तसँग २५ करोड ६७ लाख रुपैयाँ वितरणयोग्य नाफा छ।
संस्थाको ब्याज आम्दानीमा ३९ प्रतिशतको सुधार आएको हो। ब्याज महंगिए पनि लघुवित्तको आधार दर र स्प्रेड दुवै घटेका हुन्। सो अवधिमा करिब ७४ करोड रुपैयाँ लघुवित्तले ब्याज संकलन गरेको छ।
निक्षेप पनि ५ प्रतिशत बढेको छ। र सवा २ प्रतिशतले कम्पनीको कर्जा प्रवाहमा पनि वृद्धि देखिन्छ। लघुवित्तको खराब कर्जा पनि घटेको छ। पोहोर ४ करोड २२ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छिमेक लघुवित्तले असोजसम्म २ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ।
खुद नाफा बढे लगत्तै लघुवित्तको प्रति सेयर आम्दानी ५६.६४ रुपैयाँ पुगेको छ। पोहोर असोजमा ४६.८० रुपैयाँ थियो। कम्पनीको प्रति सेयर नेटवर्थ भने ९.३२ रुपैयाँ घटेर २७०.३ रुपैयाँ पुगेको छ।