काठमाडौं। हालै आइपीओ बिक्री गरी दोस्रो बजारमा सूचीकृत जाल्पा सामुदायिक लघुवित्तले आइतबार लाभांश घोषणा गरेसँगै सेयर मूल्य र कारोबार दुवै उच्च भएको छ।
नेप्सेको तथ्यांक अनुसार कारोबार खुलेको २ घण्टा अर्थात १ बजेसम्म यस लघुवित्तका लगानीकर्ताले १० प्रतिशत (३०९ रुपैयाँ) नाफा आर्जन गरेका छन्। प्रति कित्ता ३१०० रुपैयाँबाट कारोबार सुरु गरेको यस कम्पनीको सेयर कारोबार अहिलेसम्म प्रति कित्ता ३४०८ रुपैयाँमा भइरहेको छ।
लघुवित्तको शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत नगद लाभांश दिने भएको हो।
प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन्। लघुवित्तले पहिलो वर्ष नै लगानीकर्तालाइ यति धेरै मुनाफा वितरण गर्ने भएपछि आज यस कम्पनीको कारोबार पनि बढेको छ। यो अवधिसम्म कम्पनीको सेयर ५ करोड ४२ लाख माथिको कारोबार भएको छ।
यस्तै आजको कारोबारको 'हाफ टाइम' सम्म कारोबारका अधारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था छ। यस कम्पनीको ८ करोड माथिको कारोबार भएको हो भने मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ।
साथै वीन नेपाल लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागिसकेको छ।
यस्तै गरिमा विकास लघुवित्तको सेयर मूल्य ७.६२ प्रतिशत, राष्ट्र उत्थान लघुवित्त र डिप्रोक्स लघुवित्तको ६ प्रतिशतले बढेको छ।