काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।
महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनसँगको भेटमा यो धारणा राखेका हुन्।
उनले दुवै देशका निजी क्षेत्रबीच बलियो सम्बन्ध बनेमा लगानी, प्रविधि तथा अनुभव समेत ल्याउन सहज हुने बताए। ढकालले बाह्य लगानी ल्याउन निजी क्षेत्रले सरकारलाई निरन्तर झकझक्याइरहेको बताउँदै सोही अनुसार बाह्य लगानी सम्बन्धि ऐनमा संशोधन भएको बताए।
उनले नेपालमा लगानीको सम्भावना प्रवल रहेको बताउँदै राम्रो प्रतिफल पनि पाइने बताए। भेटमा स्याङगनले नेपालको विकासमा सहयोग गर्न कोरिया तयार रहेको बताए। भेटमा महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र उद्योग समितिका सभापति भरतराज आचार्य पनि सहभागी थिए।
स्याङगनसहित तीन सदस्यीय प्रतिनिधिमण्डल अहिले नेपाल भ्रमणमा छ।