काठमाडौं। ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर (वित्तीय व्यवस्थापन) भएको छ।
हाइड्रो भिलेजले निर्माण गर्न लागेको आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइमा ऋण लगानी हुनेछ। मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी संचय कोष,नेपाल एसबीआई बैंक लिमिटेडले ऋण लगानी गर्नेछन्।
सोमबार ऋण लगानी सम्बन्धी सम्झौता भएको हो। आयोजना निर्माणका लागि करिब १० अर्ब ७४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी हुनेछ।
आयोजना म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिकामा पर्ने म्याग्दी खोलामा प्रस्ताव गरिएको छ। आयोजनाका निर्देशक सुशील पोखरेलका अनुसार निर्माणमा जानु अघिका सरकारी निकायदेखि सबैतिरबाट लिनुपर्ने स्वीकृति लिने काम सकिएको छ।
विद्युत खरिदबिक्री सम्झौता (पीपीए), ग्रीड कनेक्सन एग्रीमेन्ट, कन्स्ट्रक्सन लाइसेन्स, विभिन्न चरणका अध्ययनहरु पुरा भएको छ। अब आयोजना निर्माणमा जान तयार अवस्था छ।

निर्माणको काम सुरु गर्नका लागि सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकल सबैको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भइसकेको छ। अहिले मूल्यांकनको चरणमा रहेको पोखरेलले बताए। उनका अनुसार विदेशीसहित ५ वटा कम्पनीले सिभिल संरचनाको काम गर्नका लागि टेण्डर भरेका छन् भने इलेक्ट्रोमेकानिकलका लागि ३ वटाले आवेदन दिएका छन्। केही महिनामा नै मूल्यांकन सकेर निर्माण सुरु गर्ने योजना छ। अबको ३८ महिना अर्थात २०८२ फागुनसम्म विद्युत उत्पादनको लक्ष्य छ।
अहिले साइटसम्म पुग्नका लागि एक्सेस रोड (पहुँचमार्ग) निर्माणको काम चलिरहेको छ। १४ किमिमध्ये १० किमि पुरा भएको छ। ४ किमिमा अहिले धमाधम काम चलिरहेको छ। एक्सेस रोड नभएका कारण हेलिकप्टरबाट सामानहरु लगेर अध्ययन र परीक्षणको काम गरिएको थियो। अहिले केही परीक्षणका कामहरु पनि हेलिकोप्टरबाट सामान लगेर भइरहेको पोखरेलको भनाइ छ।
प्रस्तावित आयोजनाको दुईवटा हेडवर्क्स म्याग्दी र कुनावन खोलामा हुनेछ। आयोजनाको ग्रस हेड ६३६.५ मिटर हुनेछ। हेडरेस टनेल ६१२७ मिटरको हुनेछ। १२३ मिटर पेनस्टक पाइप रहनेछ। सर्फेस पावर हाउस प्रस्ताव गरिएको छ।
उत्पादित विद्युत १७ किमि डबल सर्किट प्रसारणलाइन नेपाल विद्युत प्राधिकरणको डाँडागाउँ सवस्टेसनमा जोडिने छ। आयोजनाबाट वार्षिक ३३५.९९३ गिगावाट आवर (सुक्खायाममा १०३.१०९ गिगावाट आवर र बर्खायाममा २३२.८८४ गिगावाट आवर उत्पादन हुनेछ। आयोजनामा हाइड्रो कन्सल्टले परामर्शदाताको रुपमा काम गरिरहेको छ।
यो आयोजनाको २०१७ मा सम्भाव्यता भएको थियो। आयोजनाले २०१८ मा ग्रीड कनेक्सन एग्रीमेन्ट गरेको थियो भने आयोजनाको २०२० मा वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले समयमा नै सक्ने प्रतिबद्धता जनाए। उनले २०८२ फागुनमा उल्लासमय वातावरणमा आयोजनाको उद्घाटन गर्ने दाबी गरे।
हाइड्रोइलेक्ट्रीसिटी डेभलपमेन्ट एण्ड इन्भेष्टेमन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले क्राइसिसको समयमा पनि फाइनान्सियल क्लोजर गर्न सकेको भन्दै बधाइ दिए। उनले तोकिएकै समयमा गुणस्तर कायम गर्दै निर्माण सक्नुपर्ने बताए। उनले एक दिनमात्रै ढिला हुँदा पनि ९० लाख रुपैयाँ घाटा हुने भन्दै समयमा सक्नुपर्ने बताए।
