काठमाडौं। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ। लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा बढेको हो।
लघुवित्तले चालु वर्षको असोज मसान्तसम्म ५ करोड ६४ लाख बढी खुद नाफा आर्जन गरेको छ। कम्पनीले आर्जन गरेको उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ११ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको नाफा ५ करोड ७ लाख थियो।
कम्पनीको आम्दानी बढेसँगै नाफा पनि बढेको हो। गत वर्षको तुलनामा करिब १० प्रतिशतले खुद ब्याज आम्दानी बढाएको छ। कम्पनीले यस वर्ष खुद ब्याज आम्दानी वापत ९ करोड ९८ लाख आर्जन गरेको हो। यस्तै संचालन मुनाफा पनि ११.३० प्रतिशतले बढेको छ।
गत वर्षको असोज मसान्तको तुलनामा यस वर्ष कम्पनीले चुक्ता पुँजी ४८ प्रतिशतले बढाएको छ । यस्तै जगेडा कोष ३१ प्रतिशतले बढेको छ। हाल कम्पनीको जगेडा कोषमा ६३ करोड छ।
वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८८.५६ रहेको छ भने प्रति सेयर नेटवर्थ ३४७.३५ र मूल्य आम्दानी अनुपात ३१.६१ रहेको छ।