काठमाडौं। बढ्दो ब्याजदरविरुद्ध व्यापारी आन्दोलित भएछि सेयर बजार पनि प्रभावित हुन थालेको छ। ब्याजदरका कारण रुष्ट व्यवसायीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेलगत्तै सेयर बजार प्यानिक बनेको हो।
बुधबार सेयर बजारमा ३९.१५ अंकको फराकिलो गिरावट आयो। १५० अंक बढेको बजार पछिल्लो तीन कारोबार दिनयता निरन्तर ओरालो लाग्ने क्रममा छ।
चुनावी हलचलले सेयर बजारको उत्साह फर्किँदै गएको थियो। तर दोहोरो अंकमा पुगेको ब्याजदरले व्यवसाय प्रभावित भएपछि राष्ट्र बैंकविरुद्ध व्यवसायी आन्दोलित छन्। ब्याजलाई प्रमुख एजेन्डा बनाइएको हुँदा सेयर बजारमा पनि प्रत्यक्ष प्रभाव परेको हो।
अचाक्ली ब्याज बढाउन गभर्नरले घुमाउरो भूमिका खेलेको व्यवसायीहरुको आरोप छ। उनले नीतिगत दरहरुलाई ह्वात्तै बढाइ दिएका हुन्। जसलाई व्यवस्थापन गर्न बैंकहरु ब्याज बढाउन बाध्य भएका छन्। नभए बैंकर्सहरुले ब्याजदर नबढाउने भद्र सहमति पनि गरेका थिए।
आम ब्याजदरलाई नै प्रभावित पार्ने गरी गभर्नरले नीतिगत दर बढाएपछि सहमति तोडेर बैंकर्सहरुले ब्याज बढाएका हुन्। जसको सोझो प्रभाव उद्योग व्यवसायमा परेपछि व्यवसायी आन्दोलित छन्। अहिले बैंकको ब्याजदर १८ प्रतिशत पुगेको छ भने प्रिमियम ८ प्रतिशत नाघेको छ।
यसका बाबजुद चुनावी माहोलले मनी सप्लाई बढाउने र प्रणालीमा पनि पैसा फर्किने हुँदा सेयर बजार बढ्न सुरु गरेको थियो। तर बजारले लय फेरेपछि अन्योल सिर्जना भएको छ। जसकारण लगानीकर्ता पनि निष्क्रिय बस्न थालेका छन्। २ अर्ब रुपैयाँ माथि पुगेको सेयर कारोबार १.४० अर्ब रुपैयाँमा सीमित भएको छ।