काठमाडौं। विद्युत बिक्री आम्दानीमा गिरावट आएपछि सानिमा माई हाइड्रोपावरको नाफा ४.४२ प्रतिशत घटेको छ। हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको हो।
गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ३१ लाख रुपैयाँ कमाएको थियो। कम्पनीको विद्युत बिक्री आम्दानी ६.४३ प्रतिशत घटेको हो।
कम्पनीको विद्युत बिक्री आम्दानी असोज अन्त्यसम्म ३२ करोड १७ लाख रुपैयाँमा सीमित छ। जुन पोहोर ३४ करोड ३८ लाख रुपैयाँ थियो।
हाल कम्पनी अन्तर्गत २२ मेगावाट क्षमताको माई हाइड्रोपावर प्लान्ट र ७ मेगावाटको माई क्यासकेड आयोजना सञ्चालनमा छन्। जसमध्ये चालु आर्थिक वर्षको अवधिमा सानिमा माईले २४ करोड १० लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ भने क्यासकेडले ८ करोड ६ लाख रुपैयाँ बिक्री गरेको छ।
कम्पनीले सञ्चालन खर्च बाहेक ३ करोड ३२ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ। एक करोड १९ लाख रुपैयाँ ब्याजबाट आम्दानी समेत गरेको देखिन्छ।
नाफामा आएको सामान्य गिरावटले कम्पनीको प्रति सेयर आम्दानी पनि घटेको छ। पोहोर ८.६६ रुपैयाँ रहेको प्रति सेयर आम्दानी अहिले ७.५२ रुपैयाँमा सीमित छ।