BIZMANDU
www.bizmandu.com

कास्कीमा ६.४१६ किमीको सिक्लेस-अन्नपूर्ण केबलकार निर्माण हुने, लागत ६ अर्ब ९० करोड

२०७९ कात्तिक २४

कास्कीमा ६.४१६ किमीको सिक्लेस-अन्नपूर्ण केबलकार निर्माण हुने, लागत ६ अर्ब ९० करोड
कास्कीमा ६.४१६ किमीको सिक्लेस-अन्नपूर्ण केबलकार निर्माण हुने, लागत ६ अर्ब ९० करोड


काठमाडौं। कास्कीको मादी गाउँपालिकामा ६.४१६ किमीको सिक्लेस-अन्नपूर्ण केबलकार निर्माण हुने भएको छ। सिक्लेस अन्नपूर्ण केबलकार प्रालिले यो केबलकार निर्माण गर्न लागेको हो।

Tata
Global Ime

गाउँपालिकाको १ र २ मा केवलकार निर्माण तथा संचालनको प्रस्ताव गरिएको छ। आयोजनाको सम्भाव्यता अध्ययन (फिजिबिलिटी) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार भइसकेको छ। आयोजनाको इआइए नेपाल इन्भाइरोमेन्टल एण्ड साइनटीफीक सर्भिसेज, काठमाडौंले तयार पारेको हो। आयोजनाको परामर्शदाता समेत यही कम्पनी हो।

केबलकारको तल्लो स्टेसन कास्कीको मादी गाउँपालिका १ (सिक्लेस गाउँको प्वरमयुम भन्ने ठाउँ) मा पर्छ। बीचको र माथिल्लो स्टेसन सोही गाउँपालिकाको २ मा पर्छ। यो आयोजनाको माथिल्लो स्टेसन मादी गाउँपालिका २ कोरी डाँडामा रहने छ। जहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरुको दृश्य हेर्न सकिन्छ। सिक्लेस गाउँ नेपालकै ठुलो गुरुङ गाउँमध्येको एक पर्यटकीय गाउँ पनि हो।

सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार केबलकार 'मोनोकेबल डिट्याचयवल गोन्डोला' प्रकृतिको हुनेछ। माथिल्लो स्टेसन र तल्लो स्टेसनबीचको दुरी १७८५ मिटर हुनेछ। माथिल्लो स्टेसन र बीचको स्टेसनबीचको दुरी १०८५ मिटर र तल्लो स्टेसन र बिचको स्टेसनबीचको उचाइ भिन्नता ७०० मिटर रहनेछ।

यसमा बक्स (गोन्डोला) ६० वटा राखिनेछ। एउटा गोन्डोलाले ८ जना यात्रु बोक्न सक्छ। दैनिक ६ हजार जना बोक्न सक्ने अधिकतम क्षमता रहेको उल्लेख छ। केबलकारको गति ६ मिटर प्रतिसेकेन्ड हुनेछ। यो केबलकारको दुरी २५ मिनेटको हुनेछ।

केबलकारको सीमांकनमा कुल २० मिटर दायाँ र बायाँ १०/१० मिटर कायम गरिएको छ। केबलकारमा कुल ३० वटा टावर रहनेछ। एलभी रुम, अपरेटर रुम, वेटिङ एरिया, लोडिङ/अन लोडिङ एरिया, गोन्डोला पार्किङ हल, गोन्डोला मर्मत एरिया, चौकीदार भवन, अफिस भवन, क्वाटर, स्टोर भवन, रेष्ट रुम, कार पार्किङ लगायतका सुविधाहरु रहनेछन्।

टर्मिनल भवनका लागि ११८७ वर्ग मिटर, स्टाफ भवन, भण्डारण गृह, आराम गर्ने हल ६१६ वर्ग मिटर गरि १५४२ वर्गमिटर बिल्ड अप एरिया आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।

निर्माण अवधि साढे ३ वर्ष
यो आयोजनाको निर्माण अवधि साढे ३ बर्षको हुनेछ। पूर्व तयारीका लागि १ वर्ष, वित्तीय बन्द (फाइनान्सियल क्लोजर) का लागि एक वर्ष रहनेछ। मुख्य निर्माण थालेको साढे एक वर्ष सक्ने योजना छ। संचालन अवधि ३० वर्ष  प्रस्ताव गरिएको छ।

आयोजनाको निर्माण पूर्व स्थलगत सर्वेक्षण, सम्भाव्यता अध्ययन, आयोजनाको क्षेत्र निर्धारण, जग्गाको स्वामित्व आयोजनामा  ल्याउने, जमिन मिलाउने, कामदार शिविर, भण्डारण क्षेत्र लगायतका कामहरु हरेका छन्। निर्माण चरणमा विस्तृत अध्ययन र बोलपत्रको तयारी, बोलपत्र आह्वान  र निर्माण कम्पनीको छनोट लगायतका कामहरु रहेका छन्।

त्यस्तै निर्माण चरणमै कामहरुमा कामदारको शिविर र कार्यालय स्थापना, निर्माण सामग्री खरिद, पहुँचमार्ग स्तरोन्नती, निर्माण कार्य सम्पन्न र प्रस्तावकलाई हस्तान्तरण गर्ने कार्यहरु गरिनेछ। संचालन चरणम कार्यान्वयन र अनुगमन गरिनेछ। निर्माण पुरा गर्न ६ अर्ब ९० करोड ३७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। निर्माण चरणमा ६०० जना र संचालन चरणमा ५० जना दैनिक विभिन्न खालका कामदारको आवश्यकता पर्ने प्रतिवेदनमा उल्लेख छ। 

प्रस्तावित आयोजना काठमाडौंदेखि २३० किमीको दुरीमा पर्छ। आयोजनाबाट पोखरा विमानस्थल ३० किमीको दुरीमा पर्छ।  पोखरादेखि आयोजनाको तल्लो स्टेसनसम्म कच्ची मोटरबाटो (३५ किमी) मार्फत पुग्न सकिन्छ। आयोजनाको तल्लो स्टेसनदेखि माथिल्लो स्टेसनसम्म पैदलमार्ग मात्रै रहेको छ।

२७ हेक्टर जग्गा चाहिने 
आयोजनाका सम्पूर्ण संरचनाहरु निर्माण गर्दा २७.९९ हेक्टर जग्गा आवश्यक पर्छ। तल्लो स्टेसनका लागि ७.४६ हेक्टर, बीचको स्टेसनका लागि २.०४ माथिल्लो स्टेसनका लागि ५.७६ हेक्टर, टावर र सिंमाकनको लागि १२.७३ हेक्टर आवश्यक रहनेछ।

आयोजनाको कुल वातावरणीय लागत ३४ करोड ६३ लाख रुपैयाँ रहेको छ। जसमध्ये १६ करोड रुपैयाँ अनुगमनका लागि, वातावरणीय न्यूनिकरणका लागि १५ लाख रुपैयाँ, वातावरणीय परीक्षणका लागि २ करोड ५० लाख रुपैयाँ, र सामाजिक उत्तरदायित्वका लागि १ करोड ६५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।