काठमाडौं। बजार निरन्तर ओरालो लागेपछि आइपीओ निष्कासन गर्न होडबाजी गर्ने कम्पनीहरूको संख्यामा ह्रास आउन थालेको छ।आइपीओप्रति लगानीकर्ताको आकर्षण नगुमे पनि संस्थापकहरू माझ भने कम्पनीको सेयरले मूल्य नपाउने त्रास देखिएको छ।
‘अहिले आइपीओबाट आउने कम्पनी अवमूल्यन भएर जाने अवस्था छ। सामान्य जसो बियरिस प्रवृत्तिको बजारमा नयाँ कम्पनी आउँदैनन्,’ धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले बिजमाण्डूसँग भने, ‘आइपीओ जारी गर्नु पूर्व डिमाण्ड कन्सन्ट्रेसनलाई मुख्य रूपमा हेरिने गरिन्छ।’
मुख्यतया बियरिस सिजनमा सेयर बजारको समग्र माग घटेर जान्छ। आपूर्तिको अनुपात मागले धेरै बेर धान्दैन। सर्ट टर्म ट्रेड र निरन्तर प्रोफिट बुकिङले गर्दा सेयर भाउ धेरै माथि जान सक्दैन। यो समयमा दोस्रो बजारमा चलेको चर्को मोलतोलबीच भर्खरै प्रवेश गरेका कम्पनीको आकर्षण क्षणिक हुने गर्छ। त्यही भएर धेरै कम्पनीले आईपीओ ल्याउने निर्णयलाई प्रभाव पारिरहेको हुन्छ।
बुलिस बजारमा जसरी १० औँ दिनसम्म सर्किट लागेर हालै सूचीकृत सेयरको मूल्य बढ्ने गर्छ। त्यो सिद्धान्त बियरिस बजारमा लागू हुँदैन। नयाँ स्टकमा आकर्षण त हुन्छ, तर केही समय मात्र। दुई अथवा तीन दिनमै सेयर मूल्य पुनः सर्किट लेभलमै घटेर कारोबार हुन थाल्छ। बजारको आपूर्तिले मूल्यलाई निकै छिटो समायोजन गर्छ।
नेपाल स्टक एक्सचेन्जको पछिल्लो दुई दशकको इतिहास हेर्दा बजार बढ्ने क्रममा स्वीकृत हुने कम्पनीको संख्या उल्लेख्य भएको पाइन्छ। त्यही बजार घट्न थाले लगत्तै प्राथमिक सेयर बजारमा भित्रिन कम्पनीहरू हच्किने गर्छन्।
गिरीका अनुसार बियरिस ट्रेण्डमा अन्डरराइटिङ गर्दा समेत बजार बढ्ने पूर्वानुमानलाई तथ्यांकको आधारले केलाइने गरिन्छ। किनभने सेयरको मूल्य बजारमा निर्भर हुन्छ। बजारको स्तर बढ्यो भने समान ढंगमा सेयर मूल्य पनि बढ्छ।
धेरै प्रतिकूल बजार अवस्था जहाँ सुरुवाती मूल्य नै कमजोर छ त्यस्तो अवस्थामा कम्पनीहरूको रुचि आइपीओ निष्कासनमा कम देखिन्छ। ती कम्पनीहरू जसले भविष्यमा उच्च उत्पादन दिने परियोजनाहरू तत्काल लिक्विडिटी इन्जेक्ट गर्न चाहन्छन्, केवल उनीहरू मात्र बजारको प्रतिकूल अवस्थामा आइपीओ ल्याउन डराउँदैनन्।
आइपीओ दोस्रो बजारमा भित्रिएपछि ‘डिमान्ड’ र ‘सप्लाई’सँग ‘एडप्ट’ भएर क्रमशः ‘इभल्भ’ हुँदै जाने गर्छ। जसको परिणाम एउटा निश्चित मूल्यमा गएर कम्पनीको सेयर मूल्यले विश्राम लिन्छ।
वित्तीय अवस्था एवम् संस्थागत सुशासन सुदृढ भएका कम्पनी पनि घट्दो बजारमा आफ्नो मूल्य धेरै माथि टिकाइराख्न सक्दैनन्। यस्तो अवस्थाले मन्दी उन्मुख अर्थतन्त्रलाई चित्रण गर्न थालेको पनि केही विज्ञहरूले राय दिने गर्छन्। अर्थतन्त्र सुधारमा लागे लगत्तै सेयर बजारप्रति फर्किने लगानीकर्ताको आशाले आइपीओ ल्याउन प्रोत्साहित हुने उनीहरु बताउँछन्।
कम मूल्यका सेयरको बजार पुँजीकरण पनि निकै न्यून हुने गर्छ। पुँजीकरण नै कम हुँदा सेयरको प्रभाव बजारमा त्यति हुँदैन। बजार पुँजीकरणको ठूलो हिस्सा ओगटेका प्रभावशाली स्टकको तुलनामा यस्ता सेयर बढी भोलाटाइल प्रवृत्तिका हुन्छन्। परिसूचकको सामान्य उतारचढावले पनि यिनीहरूको मूल्यमा उल्लेख्य प्रभाव पार्छ।
त्यही बढी मूल्य भएका सेयर न्यूनतम कित्ता संख्या भए पनि प्रभावशाली हुन्छन्। हिमालयन डिष्टिलरी पनि यस्तै सेयर मध्यको एक हो। सेयर संख्या कम हुनुका बाबजुद बजारमा कारोबार हुने सबैभन्दा प्रिमियम सेयरमध्ये पर्छ। लगानीकर्ताले सेयरको एक कित्तालाई मात्र १७ सय प्रतिशतभन्दा बढी प्रिमियम तिर्छन्। त्यसैले महँगो मूल्य सेयरको पृथक पहिचान पनि हो।
प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न चाहने कम्पनीहरू बजारको बुलिस चरणलाई विशेष ध्यानमा राख्छन्। जसले गर्दा कम्पनीलाई आवश्यक नगद प्रवाहमा प्रचुर मद्दत मिल्छ। बढेको क्यापिटल मार्केट यिल्ड यस्तो आइपीओको ‘भोलुम्’लाई प्रत्यक्ष रूपमा असर गर्छ।
यही कारणले गर्दा प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने योजनामा रहेका सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र घोराही सिमेन्ट जस्ता कम्पनीको आइपीओ हाल अलपत्र छ। बजारको शिथिल अवस्थामा महँगो सेयर बिक्री गर्न खोज्दा ‘अन्डर सबस्क्राइब’ हुने सम्भावना अधिक छ।