BIZMANDU
www.bizmandu.com

तीन वर्षपछि रिब्याक हुँदै चिनियाँ वायुसेवा, चाइना साउदर्नले तोक्यो उडान तालिका

२०७९ कात्तिक २८

तीन वर्षपछि रिब्याक हुँदै चिनियाँ वायुसेवा, चाइना साउदर्नले तोक्यो उडान तालिका
तीन वर्षपछि रिब्याक हुँदै चिनियाँ वायुसेवा, चाइना साउदर्नले तोक्यो उडान तालिका


काठमाडौं। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै तीन वर्षपछि चिनियाँ वायुसेवा कम्पनीले नेपाल तर्फ पुनः व्यवसायिक उडान गर्ने भएका छन्। अहिले हिमालय र एयर चाइनाले नियमित व्यवसायिक उडान गर्दै आएका छन्।

Tata
Global Ime

सीमित कम्पनीको मात्रै उडान हुँदा भाडादर महँगो छ। अरु चिनियाँ कम्पनी थपिएपछि भाडादर पनि सस्तिनेछ। चीनको चाइना साउदर्न र सिचुआन एयरले पुनः नेपाल उडान तयारी सुरु गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

चाइना साउदर्नले नोभेम्बर २२ तारिखबाट साताको तीनवटा उडान गर्ने तालिका पाएको प्रवक्ता निरौलाले जानकारी दिए। सिचुवान एयरले पुनः नियमित उडान प्रकृया सुरु गरेको उनले बताए।

'कोभिड संक्रमण नियन्त्रणमा आएसँगै चिनियाँ वायुसेवा कम्पनीले नेपाल तर्फ पुनः उडान सुरु गर्न प्रक्रिया थालेका छन्। तत्काल चाइना साउदर्नले व्यवसायिक उडानको स्लट पाइसकेको छ। सिचुवानले प्रक्रिया सुरु गरिसकेको छ। एप्रुभल पाउन बाँकी नै छ,' प्रवक्ता निरौलाले भने।

चाइना इस्टर्नबाट भने हालसम्म उडानका लागि पत्राचार नगरेको उनले जानकारी दिए।

हाल नेपाल-चीन-नेपाल तर्फ नेपाली वायुसेवा हिमालय एयरलाइन्स र एयर चाइनाले नियमित व्यवसायिक उडान गर्दै आएको छ। प्राधिकरणका अनुसार हिमालयले साताको तीनवटा र एयर चाइनाले साताको एउटा उडान गर्दै आएको छ।

कोभिडमा कडा

कोभिडपछि चीनले कडा मापदण्ड अपनाएको छ। त्यही मापदण्डका कारण चीनमा आवतजावत गर्न समस्या छ। कडा मापदण्ड भएकै कारण धेरै नेपाली आवतजावत गरेका छैनन्।

चीनबाट नेपाल घुम्न आउने पर्यटक पनि उल्लेख्य छैन। तीन वर्षको अवधिमा चिनियाँ व्यापारमा संलग्न व्यवसायीले नेपालबाटै सामान अर्डर गरिरहेका छन्। चीनमा रहेका केही नेपाली एजेन्टलाई अर्डर गर्ने र उनीहरुले सामान किनेर पठाउने गरेका छन्।

तर पछिल्लो समय चिनियाँ कम्पनीले उडान बढाउँदै लगेपछि चिनियाँ पर्यटकको आगमन र दुई देशबीचको व्यापार अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।