काठमाडौं। गत सोमबारदेखि निरन्तर ओरालो लागेर ८२ अंकले घट्दै सेयर बजार कारोबार आज लयमा फर्किएको छ। बजार सोमबार दोहोरो अंकको वृद्धिसहित बन्द भएको हो।
आज नेप्से परिसूचक २१.२६ अंकले बढेर १९०४.४५ बिन्दुमा पुगेको छ। सेन्सेटिभ पनि ४.५१ अंकले बढेको छ। करिब एक हप्ता निरन्तर घटेको सेयर बजार चुनावको मुखमा अर्थतन्त्रमा सुधार हुने संकेतले बढेको हो।
यसका साथै लामो समय बजार घटेकाले आज सस्तो मूल्यमा सेयर उठाउने लगानीकर्ता बढेसँगै बजार सकारात्मक देखियो। हाइड्रोपावर, फाइनान्स तथा विकास बैंक उपसमूह अन्तर्गतका कम्पनीहरुमा खरिदकर्ताको चाप छ। यी उपसमूह करिब २ प्रतिशतले बढेका छन् भने बाँकी उपसमूह पनि सामान्य बढेका छन्।
यस्तै आज परिसूचक सकारात्मक बनेसँगै कारोबारमा पनी सुधार देखिएको छ। आज दिनभरको कारोबार अवधिमा २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता सेयर किनबेच हुँदा ९४ करोड माथिको कारोबार भएको छ। आइतबार १०.५४ अंकले घटेको बजारमा ७७ करोड बराबरको सेयर कारोबार भएको थियो।
कारोबारका अधारमा आज शिवम् सिमेन्ट अग्र स्थानमा छ। कम्पनीको १० करोड माथिको सेयर किनबेच भएको हो। यस्तै हिमालय डिष्टीलरीको करिब ९ करोडको कारोबार भएको छ।
साथै आज तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य सर्वाधिक बढेको छ। आज यस होटलको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको हो।