विराटनगर। मोरङ र सुनसरीका मैदा उद्योगले भारतबाट अवैध रूपमा आयात गरिएको मैदा ल्याएर प्याकिङ गर्ने गरेको रहस्य खुलेको छ।
विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले सोमबार राति सुनसरीको सीमा क्षेत्रबाट नेपाली नम्बरका २ ट्याक्टर र २ मिनी ट्रकमा लोड गरिएको १५ लाख मूल्यको ५०५ बोरा मैदासहित ५ व्यक्तिलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो।
सो मैदा सुनसरी र भारतको सीमा क्षेत्रमा पर्ने घुस्कीको नाकाबाट तस्करी गरेर ल्याइएको भन्सार कार्यालयले जनाएको छ। पक्राउ परेका पाँचै व्यक्तिले सो मैदा मोरङ र सुनसरीका विभिन्न मैदा उद्योगमा पठाउने गरेको बयान दिएको कार्यालयको भनाइ छ। भन्सार गस्ती टोलीले भारतीय नम्बरको १ कारसहित कारमा बसेका अवैध कारोबारीलाई पनि पक्राउ गरेको छ।
कार्यालयका अनुसार पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका वडा नं. ७ का वर्ष ३७ का जमसेद आलम को १ ख ३१४५ नम्बरको मिनी ट्रकका चालक हुन्। सो मिनी ट्रकमा भारतबाट तस्करी गरेर ल्याइएको मैदा लोड गरिएको थियो। त्यस्तै को २ त १३०३ नम्बरको ट्याक्टरमा लोड गरिएको तस्करीको मैदासहित पक्राउ परेका चालक वर्ष २२ का नाजिर खान सुनसरीको हरिनगरा गाउँपालिका वडा नं. ७ का निवासी हुन्। सो ट्याक्टर पनि गस्ती टोलीले नियन्त्रणमा लिएको थियो।
सुनसरीको हरिनगरा गाउँपालिका वडा नं. ७ कै वर्ष १८ का असरफ अलीले चलाएको मे १ त ७०५५ नम्बरको ट्याक्टरमा पनि तस्करीकै मैदा लोड गरिएको भन्सार कार्यालयले जनाएको छ। चालक अली र ट्याक्टर दुबै पक्राउ परेका छन्। हरिनगरा–७ कै वर्ष २३ का फिरोज मियाँले को १ ख २३७६ नम्बरको मिनी ट्रक चलाएका थिए। सो मिनी ट्रकमा पनि तस्करीकै मैदा लोड गरिएको थियो। गस्ती टोलीले मियाँसहित मिनी ट्रकसमेत पक्राउ गरेको छ।
चारै वटा ढुवानीका साधनमा तस्करीको मैदा लोड गराएर अवैध कारोवार चलाउने व्यक्ति पनि कारसहित पक्राउ परेका छन्। कार्यालयका अनुसार उनी भारतको विहार राज्य नगरपतगञ्जको मोहम्मद रिजवान हुन्। उनी चढेको डब्लु बी ०२ भी २३४० नम्बरको कारसहित उनलाई पनि पक्राउ गरिएको छ।
विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाले पाँचै अभियुक्तलाई कार्यालयले बयान गराउने प्रक्रिया सुरु गरेको जानकारी दिए। प्रमुख सापकोटाले आफ्नो नेतृत्वमा सोमबार रातैभरि सुनसरीसित जोडिएको सीमा क्षेत्रमा भन्सार गस्ती टोलीले निरीक्षण गर्दा अवैध मैदा फेला परेको बताए।
कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले पाँचै अभियुक्तलाई कार्यालयले भन्सार चोरी पैठारीको मुद्दा चलाउने जानकारी दिए। भन्सार कार्यालय अर्धन्यायिक निकाय पनि भएकाले उक्त मुद्दा सोही कार्यालयमा दर्ता हुने र कार्यालयले नै कारवाही अघि बढाउने बताइएको छ। सूचना अधिकारी ढुंगानाका अनुसार चोरी पैठारीका १ करोडसम्म बिगो भएका मुद्दा हेर्ने अधिकार भन्सार कार्यालयमै हुन्छ। सो बिगोभन्दा माथिका मुद्दा मात्र जिल्ला अदालतमा दर्ता गर्नुपर्छ।
उनले पक्राउ परेको मैदा र भारतीय नम्बरको कार कार्यालयले जफत गरी लिलामी गर्ने तथा मैदा लोड गरिएका ढुवानीका साधनहरू भाडामा ल्याइएको पुष्टि भएमा छाडिदिने स्पष्ट पारे। भारत सरकारले गत वैशाख ३० गते गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका मैदा उद्योग कच्चा सामग्रीको तीव्र अभावमा छन्।