काठमाडौं। स्टील र सिमेन्ट उद्योग केन्द्रित रहेको आरएमसी समूहको नयाँ भेन्चर आरएमसी फूडबाट उत्पादन सुरु भएको छ। राजेश मेटल क्राफ्ट, आरएमसी सिमेन्ट, क्लिकंरसहितको पाल्पा सिमेन्ट उद्योग रहेको यो समूहले ९० करोड रुपैयाँ लगानी खानेतेल उद्योग स्थापना गरेको हो।
समूहका कार्यकारी निर्देशक राजेशकुमार अग्रवालले सुरुवातमा खानेतेल युनिट स्थापना गरेको र उत्पादन सुरु भइसकेको जानकारी दिए। उनका अनुसार केही दिन अघिबाट न्युट्रिप्लस ब्राण्डमा सूर्यमुखी र भटमासको तेल उत्पादन भएर बिक्री सुरु भएको छ।
'हामीले प्रिमियम ब्राण्डको सूर्यमुखी तेल बजारमा ल्याएका छौं। राजधानीका अधिकांश क्षेत्रमा हाम्रो तेल बिक्री भइरहेको छ,' उनले बिजमाण्डूसँग भने, 'केही स्थानमा पुन: अर्डर पनि आएको छ।' यो समूहले उद्योग विभागमा कम्पनी दर्ता गरेको सात महिनामा उद्योग स्थापना गरेर उत्पादन थालेको हो।
'हामीले सात महिनामा यो उद्योग तयार पारेका हौं। यो युनिटमा मात्रै ९० करोड लगानी भएको छ ,' अग्रवालले भने, 'हामीले विश्वस्तरीय प्लान्ट लगाएका छौं। हामीले देशभित्र चलेका राम्रा ब्राण्डसँग कम्पिट गर्ने उदेश्यका साथ आएका हौं।'
मेसिनरी प्लान्टका लागि मात्रै ५३ करोड ५० करोडसम्म खर्च गरेको छ। यसैगरी सञ्चालन खर्चको लागि २० करोड लागेको छ। यो प्लान्टबाट (सोयाबिन, सनफ्लावर, पाम राइस ब्रान तेल) ९० हजार टन उत्पादन गर्नेछ।
तोरीको तेल १२ हजार टन, एसिड तेल १३ सय ५० टन र आयल केक बाई प्रोडक्ट २२ हजार ५ सय टन उत्पादन गर्नेछ।
चामलको युनिट छिट्टै
समूहले तेल वाहेक चामल र दाल समेत प्रशोधन गरेर बेच्दैछ। तर त्यो युनिट भने केही समयपछि मात्रै संचालनमा आउनेछ।
सो युनिटबाट वार्षिक ३० हजार टन चामल उत्पादन गर्नेछ। यस्तै ९ हजार ६ सय टन दाल(रहर, मास, चना, मुग, केराउ, मुसुरो) उत्पादन गर्नेछ। यस्तै बाईप्रोडक्ट १० हजार टन, ब्रान बाई प्रोडक्ट ८ हजार टन र हस्क बाइ प्रोडक्ट १५ हजार टन उत्पादन गर्नेछ। चुन्नी बाई प्रोडक्ट १८ सय टन उत्पादन गर्नेछ।