काठमाडौं। विद्युतीय गाडी निर्माता चिनियाँ कम्पनी बीवाइडीले १४ वर्षमा ३० लाख युनिट उत्पादन तथा बिक्री गरेको छ।
कम्पनीले बिहीबार जनाएअनुसार सुरुको १३ वर्षमा १० लाख युनिट विद्युतीय गाडी बिक्री गरेको थियो। तर पछिल्लो १६ महिनामा विद्युतीय गाडी बिक्री दोब्बर भएको छ। यो अवधिमा कम्पनीले २० लाख युनिट गाडी उत्पादन गरेको छ।
कम्पनीले वितरण गरेको ३० लाख मोडल भनेको बीवाइडी सिल मोडल हो। जुन यसको हाइ प्रमियम इलेक्ट्रिक सेडानमध्ये एक हो। बीवाइडीलाई आफ्नो पहिलो १० लाख नयाँ इलेक्ट्रिक गाडीहरू डेलिभर गर्न १३ वर्ष लागेको थियो।
यस्तै अर्को १० लाख नयाँ इलेक्ट्रिक गाडीहरू एक वर्षमा नै डेलिभर भएको छ। अझ पछिल्लो ६ महिनामा १० लाख गाडी बिक्री गरेको छ। यसले पनि देखाउँछ की इलेक्ट्रिक गाडीको माग दोब्बर संख्यामा बढ्दै गएको छ।
यो वर्ष कम्पनीले ५ वटा नयाँ मोडलहरु सार्वजनिक गर्ने योजना बनाएको छ। हाल बीवाइडी ई-६ र एटो-३ नेपालमा पनि उपलब्ध छन्। विश्व बजारमा विद्युतीय गाडीमा अग्रणी अमेरिकी कम्पनी टेस्लाले पनि हालसम्म ३० लाखभन्दा बढी गाडी उत्पादन गरिसकेको छ।