काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीको नाफा बढेको छ। आर्थिक वर्ष २०७८/ ७९ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार यो अवधिमा कम्पनीले ६७ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
जीवनबीमाबाट १० करोड ८८ लाख र निर्जीवन व्यवसायबाट ५६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा जीवन बीमा व्यवसायमा बढेको छ भने निर्जीवन तर्फको घटेको छ।
गतवर्ष कम्पनीले जीवन बीमातर्फ ३ करोड ४७ लाख रुपैयाँ र निर्जीवनतर्फ ५७ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गतवर्षको तुलनामा कम्पनीको नाफा १०.४५ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै गत आर्थिक वर्षको मसान्तसम्ममा निर्जीवन व्यवसायतर्फ ८ अर्ब ८८ करोड बीमाशुल्क संकलन गरेको छ। जीवन बीमातर्फ १ अर्ब ४६ करोड रुपैयाँ संकलन गरेको छ। अघिल्लो वर्षको यो अवधिमा निर्जीवनतर्फ ८ अर्ब २ करोड र जीवनबीमातर्फ १ अर्ब २६ करोड रुपैयाँ संकलन गरेको थियो।
कम्पनीले लगानी कर्जा तथा अन्यबाट १ अर्ब ३ करोड रुपैयाँ आम्दानी गरेको छ। कम्पनीको खुद दाबी भुक्तानी २४ प्रतिशतले बढेको छ। कम्पनीले ६ अर्ब ५४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। गतवर्ष सो अवधिमा ५ अर्ब २७ करोड रुपैयाँ भुक्तानी गरेको कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ। चौथो त्रैमासमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ छ। जगेडा कोषमा ६ अर्ब १३ करोड रुपैयाँ जम्मा छ। बीमा कोषमा २८ करोड रुपैयाँ सञ्चित छ। पुनर्बीमा कमिसनमा २ अर्ब ९३ करोड रुपैयाँ खर्चिएको छ।
यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ छ।