काठमाडौं। ललितपुरको पुल्चोकमा रहेको लबिम मलले २०२१/२२ मा २८ करोड ५१ लाख रुपैयाँको व्यापार गरेको छ।
ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनी प्रालिले अघिल्लो वर्ष २०२०/२१ मा २० करोड ७२ लाख रुपैयाँ, २०१९/२० मा २४ करोड ६२ लाख रुपैयाँ र २०१८/१९ मा २८ करोड ९४ लाख रुपैयाँको व्यापार गरेको थियो।
२५ वर्ष जग्गा लिजमा लिएर निर्माण भएको लबिम मलमा राजेशकुमार सिद्धीको ३७ प्रतिशत, नकिम उद्दिनको २५ प्रतिशत, भाष्कर ढुंगानाको २० प्रतिशत र रेसु अर्याल ढुंगानाको १७ प्रतिशत सेयर स्वामित्व छ। कम्पनीको अध्यक्ष राजेशकुमार सिद्धी हुन्।
एक सयभन्दा बढी ब्राण्डका आउलेटसहित मलमा रेष्टुरेन्ट, फास्ट फुड, बुटिकसहित क्यूएफएसको तीनवटा मल्टिप्लेक्स थियटर छन्।
कम्पनीले ९० करोड ७२ लाख रुपैयाँ बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पुन:पुष्टि गराएको छ। ८३ करोड २५ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि कम्पनीले एल डबल बी माइनस र ७ करोड ४७ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पुन:पुष्टि गराएको छ।