BIZMANDU
www.bizmandu.com

मौद्रिक समीक्षाको पर्खाइमा सेयर बजार, चालु पुँजी कर्जा र ब्याजदर सम्बोधनको अपेक्षा

२०७९ मंसिर ६

मौद्रिक समीक्षाको पर्खाइमा सेयर बजार, चालु पुँजी कर्जा र ब्याजदर सम्बोधनको अपेक्षा
मौद्रिक समीक्षाको पर्खाइमा सेयर बजार, चालु पुँजी कर्जा र ब्याजदर सम्बोधनको अपेक्षा


काठमाडौं। बाह्य क्षेत्र सुधार र बैंकिङ तरलताले गर्दा तरंगित सेयर बजारको वृद्धिमा फेरि ब्रेक लागेको छ। मंगलबार सेयर बजारमा ७.१३ अंकको गिरावट आउँदा नेप्से १९२९.७० विन्दुमा सीमित छ।  

Tata
Global Ime

राष्ट्र बैंकले मौद्रिक समीक्षाको तयारी गरिरहँदा सेयर बजारले भने तत्कालै फराकिलो उतारचढाव नलिने देखिएको हो। चालु पुँजी कर्जा र ब्याजदरका विषयलाई समीक्षाले सम्बोधन गर्ने अपेक्षामा लगानीकर्ता अहिले 'पर्ख र हेर'को अवस्थामा पुगेका छन्।

घटेको कारोबारले पनि लगानीकर्ता निष्क्रिय बस्न थालेको प्रस्ट्याउँछ। निर्वाचन अघि डेढ अर्बभन्दा बढी हुने गरेको कारोबार मंगलबार एक अर्ब ३५ करोड रुपैयाँमा सीमित छ। 

ब्याजदर अझै केही समय उच्च रहने हुँदा निर्धक्क भएर लगानी गर्ने अवस्था निर्माण भइनसकेको लगानीकर्ताको टिप्पणी छ। शोधनान्तर, मुद्रा सञ्चित र रेमिटेन्समा प्रगति देखिएपनि बजारको लय तय गर्ने ब्यादर भने यथावत नै छ।

विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउन सहमत भएपनि वाणिज्य बैंकबाट अझै यस्तो प्रतिबद्धता आइसकेको छैन। उनीहरु नबढाउने पक्षमा भने छन्। पुसका लागि उनीहरुले ब्याज घटाउन सक्ने पूर्वानुमान पनि गर्न सकिन्छ। जसले गर्दा लागत घट्न गई माघ कर्जाको ब्याज घट्न सक्ने सम्भावना देखिन्छ।

ब्याजदर उच्च हुँदा कर्जाको माग पनि घटेको छ। रेमिटेन्स वृद्धि र जारी आयात प्रतिबन्धले गर्दा बाह्य क्षेत्रमा सुधार देखिए पनि अर्थतन्त्रको व्यापार चक्रलाई भने प्रभाव पारी रहेको छ। चालु पुँजी कर्जामा पनि राष्ट्र बैंकले कडाइ अपनाएपछि आर्थिक क्रियाकलाप आधा क्षमतामा चल्दैछन्। सरकारी राजस्व पनि यसले गर्दा लक्ष्यभन्दा कम असुली भएको छ।

यसकारण पनि निर्वाचनलाई पन्छाए लगत्तै राष्ट्र बैंक, उद्योगी व्यवसायी एवम् आम लगानीकर्ताको माग सम्बोधन गर्ने गरी समीक्षा सार्वजनिक गर्ने तयारीमा छ। नयाँ आउने सरकारले पनि आर्थिक एजेण्डालाई अघि बढाउने अपेक्षा छ।

तर मंगलबार नेप्सेले रोक्का राखेको कतिपयको सेयर कारोबार फुकुवा गरेको छ। लगत्तै बजारमा प्रतिकूल अवस्था बने पनि लगानीकर्ताहरुको बुझाइ छ।

मर्जर प्रक्रियामा रहेका यस्ता कम्पनीको सेयर कारोबार रोकिएको थियो।‍ तर राष्ट्र बैंक र धितोपत्र बोर्डको समंन्वय पछि आधारभूत सेयरधनी बाहेकको कारोबार नरोकिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

मंगलबार मात्र नेप्सेले मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको गरि कुल ८ करोड ५९ लाख कित्ता बढी कित्ता सर्वसाधारणको सेयर फुकुवा गरेको छ। बैंकका अधिकांश सेयर अत्यधिक आपूर्तिले गर्दा समायोजन भएर तल्लो मूल्यमा कारोबार हुँदैछन्। यसबीच फुकुवा भएका बैंकको सेयर मूल्य पनि आकर्षक मागको अभावमा घट्न सुरु गरेका हुन्।