BIZMANDU
www.bizmandu.com

एमालेको गढबाटै खोल्यो समाजवादीले खाता, २३ वर्षपछि भीम रावलको क्षेत्रमा एमाले पराजित

२०७९ मंसिर ७

एमालेको गढबाटै खोल्यो समाजवादीले खाता, २३ वर्षपछि भीम रावलको क्षेत्रमा एमाले पराजित
एमालेको गढबाटै खोल्यो समाजवादीले खाता, २३ वर्षपछि भीम रावलको क्षेत्रमा एमाले पराजित


कैलाली। अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर विजयी भएका छन्। दुई वटा निर्वाचन क्षेत्र रहेको अछामको यो क्षेत्र भीम रावलको क्षेत्र हो। यहाँ विगत १५ वर्ष यता एमालेको एकलौटी जित हुँदै आएको थियो।

Tata
Global Ime

यो क्षेत्रमा २०४८ र २०५६ मा दुई पटक पराजित बनेका रावल त्यसबाहेक ४ निर्वाचनमा विजयी बनेका थिए। २०४८ मा पराजित बनेपछि ५१ को संसदीय चुनावमा रावलले जित निकालेका थिए। बहालवाला मन्त्री रहेकै अवस्थामा २०५६ मा उनी पराजित बने।

२०६४ मा उक्त क्षेत्रबाट तत्कालीन समयमा एमालेमा रहेका कुँवर विजयी भए। भीम रावल समानुपातिक प्रणालीबाट संसद् छिरे। २०७० सालको संविधान सभा र २०७४ को निर्वाचनमा रावल विजयी बने।

अहिले एमालेका झपट बोहरालाई पराजित गरी विजयी भएका कुँवर एमालेबाट २०६४ मा विजयी भएका थिए। कुँवर २०७४ मा राष्ट्रियसभा सदस्य बनेका थिए। नेकपा विभाजनमा एमाले छोडेर समाजवादीतर्फ लागेका उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पनि हुन्।

प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ मा कुँवरले १९ हजार ५ सय ३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी बोहरालाई पराजित गरेका हुन्। बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे। स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए।

त्यहाँ २३ वर्षपछि एमालेले फेरी पराजय बेहोरेको हो। यसलाई एमाले भित्रको अन्तर कलहले पराजित बनेको टीकाटिप्पणी हुन थालेका छन्। एमालेकै एक नेताले भीम रावलले असहयोग गरेकै कारण निर्वाचनमा पराजय बेहोर्नुपरेको बताए।

‘उहाँको असहयोग नभएको भए साढे ३ हजार बढी मतान्तरले विजयी हुने थियौँ,’ उनले भने।