काठमाडौं। प्रतिनिधिसभा र प्रदेश निर्वाचनपछि मतगणनामा परिणाम सार्वजनिक भइरहेको छ। सरकार नयाँ बनाउन अब कुन दलले अग्रसरता लिन्छ भन्नेमा उत्सुकता बढेको छ। चुनावमा भएको खर्चका कारण बैंकिङ प्रणालीमा जम्मा हुने निक्षेपमा सुधार आउँदैछ। तरलता सुधार हुँदै आए पनि सेयर बजार निर्वाचनपछि भने निरन्तर घट्दो क्रममा छ।
चुनावी चहलपहल सुरु भएसँगै शोधानान्तर, विदेशी मुद्रा सञ्चिति तथा रेमिट्यान्समा सुधार भएको थियो। अब केही समय ब्याजका दर घटबढ नहुने देखिएपछि सेयर बजार पनि नबढ्ने संकेत देखिएको हो।
बजार विश्लेषकहरुका अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाइ वितरण गर्ने लाभांश घटेको खबर बाहिरनुको असर बजारमा परेको छ। समग्र सेयर बजार नै घट्दा घाटा बेहोरिरहेका लगानीकर्ता प्रतिफल पनि घटेर आउँदा निराश छन्।
निर्वाचन अघि लगातार बढ्न थालेको कारोबार पनि घट्दो छ। निर्वाचन अघिको कारोबार दिन १ अर्ब ७१ करोड सम्मको कारोबार भएको बजारमा अहिले पहिलो दिनमै कारोबार घटेर १ अर्ब ३५ करोडमा आइपुग्यो।
बुधबार दिनभरको कारोबार अवधिमा १ अर्ब २ करोड बराबरको मात्र सेयर किनबेच भएको छ। आज नेप्से परिसूचक ७.७२ अंकले घट्दा १९२१.९९ बिन्दुमा झरेको छ। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ''चुनावका कारण तरलतामा सुधार भएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार रेमिट्यान्स पनि बढेको छ।
अझै बैंक तथा वित्तीय संस्थाले लाभांश दिन बाँकी नै छ। एक/दुई दिन बजार घटे पनि अब विस्तारै बजार बढ्छ।'
समग्र बजार नै घटे पनि मर्जरका लागि गत असार ३० गतेबाट कारोबार रोक्का रहेको सिभिल बैंकको कारोबार खुल्दा सेयर मूल्य १० प्रतिशतले बढेको छ।
यस्तै आज लाभांश वितरण गर्न बाँकी रहेको नेपाल बैंकको कारोबार उच्च भएको छ। आज दिनभरको कारोबार अवधिमा यस बैंकको १२ करोड माथिको सेयर किनबेच भएको हो। यस्तै हिमालयन डिष्टिलरीको पनि ११ करोड माथिको सेयर किनबेच भएको हो।