BIZMANDU
www.bizmandu.com

अर्थतन्त्र मन्दीमा तर अर्थसचिव पुष्कर देखिँदैनन् गम्भिर, हल्काफुल्का टिप्पणीमै मस्त


अर्थतन्त्र मन्दीमा तर अर्थसचिव पुष्कर देखिँदैनन् गम्भिर, हल्काफुल्का टिप्पणीमै मस्त
अर्थतन्त्र मन्दीमा तर अर्थसचिव पुष्कर देखिँदैनन् गम्भिर, हल्काफुल्का टिप्पणीमै मस्त


काठमाडौं। बुधबार आन्तरिक राजस्व विभागले १५ विधामा उत्कृष्ट करदातालाई सम्मान गर्‍यो। अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधि सभा निर्वाचनमा गृह जिल्लामा रहेकाले प्रमुख अतिथि सचिवद्वय कृष्णहरि पुष्कर र रामेश्वर दंगाल थिए। 

Tata
Global Ime

कार्यक्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्ल पुगेका थिए। 

कार्यक्रममा परिसंघ अध्यक्ष अग्रवालले अध्ययन रिपोर्टमै बजारमा माग र आपूर्तिको चक्रमा गम्भिर असर देखिएको तथ्यांक प्रस्तुत गरे। परिसंघले गरेको अध्ययन अनुसार समग्र माग श्रृंखलामा ३० देखी ३५ प्रतिशतसम्म गिरावट आएको देखिएको छ। देशभर आर्थिक मन्दी देखिदै जाँदा सिमेन्ट उद्योगमा ४० प्रतिशत मागमा गिरावट आएको देखिएको छ।

यस्तै अटो मोबाइल व्यावसायमा ७० देखी ८० प्रतिशतसम्म गिरावट आएको उल्लेख छ। परिसंघले यो तथ्यांक स्थलगत अध्ययन गरेरै निकालेको हो। बढ्दो आर्थिक मन्दी सँगसँगै राजस्व चालु वर्षको चार महिनामा १८ प्रतिशतले गिरावट आएको तथ्य समेत अग्रवालले बताए। 

घट्दो बजार मागले व्यवसायीहरुमा आत्माबल घटेको बताउँदै उनले ७० देखी ८० प्रतिशत उद्योगी व्यावसायीले निकट भविष्यमा गर्ने लगानी रोकेको बताए। अग्रवालले गत वर्षको तुलनामा बैंक ब्याजदर शतप्रतिशत सम्म बढ्नु र तरलताको अभाव नै मुख्य मन्दीको कारण औंल्याए। उनले सचिवलाई इंगित गर्दै तरलता प्रवाहमा अर्थमन्त्रालयको समेत मुख्य भुमिका हुने भन्दै तत्काल पहल गर्न आग्रह समेत गरे। 

अग्रवालपछि कार्यक्रममा बोलेका चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सरकारले तस्करलाई नियन्त्रण गर्न नसकेको आरोप लगाए। मल्ल देशभरका व्यावसायीले तस्करीको सामानले व्यापार व्यावसाय चौपट भएको बताए। अध्यक्ष मल्लले सरकारले फुटपाथका व्यवसायीलाई तर्साएर सेटिङमा राजस्व छली गर्नेलाई संरक्षण गर्ने गरेको आरोप लगाए। 

कार्यक्रममा महासंघ अध्यक्ष गोल्छाले अहिलेको अवस्था इतिहासमा नै कहिल्यै नदेखेको बताए। उनले सरकारलाई राजस्वले खर्च धान्न समेत हम्मे परिसकेकोले बैलैमा सजग नभए स्थिति भयावह हुने बताए।

उनले राजस्वको लक्ष्य लिएर व्यावसायीलाई तर्साउने काम रोक्न आग्रह गरे। चालु वर्ष सरकारका लागि निकै कठिन हुने बताउँदै उनले भने ‘अहिले हामी जुन स्थितिबाट गुज्रिएका छौं। यो व्यवसायिक जीवनमा कहिल्यै नभोगेको संकट हो ।’

उद्योगी व्यवसायी अर्थतन्त्रमा देखिएको संकट र मन्दीको बारेमा संवेदनशील भएर विफ्रिङ गर्दा अर्थ सचिवले भने हल्काफुल्का रुपमा मात्रै लिए। उनीहरुमा अहिलेको संकटपूर्ण आर्थिक अवस्थाका बारेमा जानकार नभएकोजस्तो देखिन्थे। उनीहरु सत्तारुढ दलका कुनै नेताजस्तै भाषण दिन मस्त बने।

अर्थसचिव कृष्णहरि पुष्करले राजनीतिक दलकै नेताजस्तै वाहिर हल्ला गरिएजस्तो अर्थतन्त्रमा समस्या नभएको जिकिर गरे। श्रम, अख्तियार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मात्रै काम गरेको अनुभव भएका पुष्करलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थजस्तो ढुकुटी चलाउने मन्त्रालय हाँक्ने जिम्मा दिएका थिए।

शर्माले आफ्नो निर्णयलाई सदर गर्ने अनुहार हेर्दै पुष्करलाई ल्याएका थिए। अर्थतन्त्र र राजस्व सम्वन्धी अनुभवनै नभएकाले पनि उनी राजनीतिक दलका नेता जसरी बोल्छन्। 'अर्थतन्त्र यस्तो गम्भीर अवस्थामा छ। त्यो विषय हामीले सार्वजनिक मञ्चमा राख्दा अर्थसचिवलेनै हल्काफुल्का रुपमा लिनुभयो,' व्यवसायिक संस्थाका एक अध्यक्षले भने, 'अर्थमन्त्रालयमा आएको अहिलेको नेतृत्व अहिलेसम्मकै कमजोर र जिम्मेवारीबोध नभएको पायौं।' अर्थसचिव पुष्करले अझ अगाडि बढ्दै भनेका थिए-'मलाई खासै आत्तिनुपर्ने बेला भएको जस्तो लाग्दैन।अलिकति मात्रै प्रेसर अर्थतन्त्रमा बढेको हो। समस्या अमेरिकामा पनि छ।’

अर्का सचिव दंगालले पनि व्यवसायीले उठाएको मुद्दामा संवेदनशील भएनन्। चेम्बर अध्यक्ष मल्लले राज्यलेनै तस्करी संरक्षण गरेको गम्भिर आरोप लगाउँदा घुस नखान आग्रह गरेर सामान्य औपचारिकता मात्रै दंगालले निभाए।