BIZMANDU
www.bizmandu.com

काठमाडौं महानगरमा रहेका सहकारीको धमाधम आउन थाल्यो उजुरी, अब नियमित अनुगमन

२०७९ मंसिर ८

काठमाडौं महानगरमा रहेका सहकारीको धमाधम आउन थाल्यो उजुरी, अब नियमित अनुगमन
काठमाडौं महानगरमा रहेका सहकारीको धमाधम आउन थाल्यो उजुरी, अब नियमित अनुगमन


काठमाडौं। काठमाडौं महानगर क्षेत्रभित्र भएका सहकारीहरुमा सर्वसाधारणले बचत रकम जोखिममा परेको उजुरी पर्न थालेको छ। उजुरी पर्न थालेपछि महानगरले अनुगमन बढाउने निर्णय गरेको छ।

Tata
Global Ime

महानगरकी उपमेयर सुनिता डंगोलले जनताको बचत जोगाउन सहकारीको नियमित अनुगमन गर्न लागेको बताईन्। बुधबार सहकारी विभागका काम र योजनाका विषयमा अधिकारीहरुसँग छलफल गर्दै उपप्रमुख डंगोलले कार्यपालिका अन्तर्गत सहकारी समिति गठन गरेपछि अनुगमनलाई तीब्र बनाइने जानकारी दिईन्।

विभागले अहिलेसम्म ११८ वटा सहकारीको उजुरी सुनुवाई गरिरहेको छ। जसमध्ये ७१ वटा आफैँ हेरिरहेको छ भने ४७ वटालाई कारवाहीका लागि प्रहरीमा पठाएको छ। 

डंगोलले बचत फिर्ता, व्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्य समिति विवाद, लेखा समिति विवाद, ऋण असुली, घर भाडा नतिरेको, ऋण तिर्दा पनि धितो फुकुवा नगरिदिएको समस्या सहकारी क्षेत्रमा देखिएको बताईन्।

काठमाडौं महानगरपालिका क्षेत्रमा अहिले १ हजार ९५५ वटा सहकारी छन्। जसमा १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी हुन्।

२६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, ३ वटा सीपमुलक, २ वटा शिक्षामुलक, एउटा सञ्चार, ३ वटा श्रमिक, पर्यटन, साझा र चियाका एक/एक वटा र अन्य ५ वटा सहकारी छन्।

मर्जरका लागि २७ वटाको सिफारिस बागमती प्रदेशमा पठाइएको छ। कुल १ हजार ९५५ मध्ये चालु आर्थिक वर्षमा १८५ वटा सहकारी अद्यावधिक भएका छन्। दुई वटा सहकारी संकटग्रस्त छन्।