कमलामाई। प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै घिमिरे निर्वाचित भएका हुन्।
निर्वाचित घिमिरेले ३० हजार तीन सय ९१ मत प्राप्त गर्दा एमालेका कटुवालले २५ हजार पाँच सय ४६ मत पाएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।
विसं २०७४ मा भएको निर्वाचनमा सिन्धुली क्षेत्र–१ को (२) मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा हुँदा घिमिरेलाई कटुवालले पराजित गरेका थिए। दुवै प्रतिस्पर्धी एकै गाउँपालिका हुन्। कटुवाल तीनपाटन गाउँपालिका वडा नं ११ र घिमिरे वडा नं १ को हन्।
विसं २०२२ भदौ २५ मा जन्मिएका घिमिरे नेपाली कांग्रेसको केन्द्रीय सदस्य र केन्द्रीय लेखा समितिको संयोजकसमेत भएका थिए। विसं २०३६ देखि राजनीतिमा क्रियाशील घिमिरेले इतिहासमा स्नातकोत्तर गरेका छन्। रासस