काठमाडौं। जगदम्बा इन्टरप्राइजेजले थप ४४ मेगावाट विद्युत लिने भएको छ। बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित कम्पनीले विद्युत लिन नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिएको हो।
फलामे डन्डी उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप विद्युत लिन लागेको हो। उद्योगले अहिले करिब ४ मेगावाट विद्युत आपूर्ति लिइरहेको थियो। प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत आपूर्ति दिने छ।
थप विद्युत आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभीए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ। उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ। प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो।
यो सँगै जगदम्बा इन्टरप्राइजेज विद्युत आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए। ‘उद्योगले अहिले ४.८ एमभीएको लोड लिइरहेको थियो, थप ४४ एमभीए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमशः स्वीकृति लोड बमोजिम थप विद्युत दिन सुरु गरिएको छ,' उनले भने, ‘स्वीकृति लोड अनुसार विद्युत लिएमा उद्योगले मासिक रुपमा २० करोड रुपैयाँभन्दा बढी महसुल तिर्ने छ।’
बाराको जीतपुरमा प्लान्ट रहेको जगदम्बा स्टिल्ससँग वार्षिक २४ लाख ४४ हजार टन जडित क्षमता छ। २० टन क्षमता भएको कम्पनीले २०२१ कम सिएमआर प्लान्ट थप गरेको हो।
उद्योगले टीएमटी बार, एंगल्स, सेक्सन, पाइप, सटर प्रोफाइल, कोइल्स, सिट्स, विभिन्न वायर प्रडक्ट उत्पादन गर्दै आएको छ। जगदम्बा स्टिलले जगदम्बा इ, राइनो ५०० डी, जगदम्बा सुपर साइन, जगदम्बा गाल्भा प्लस, जगदम्बा पाइप र जगदम्बा वायरसहित विभिन्न ब्राण्ड बिक्री गर्दै आएको छ।
जगदम्बा स्टिल्सले गत बर्ष ५० अर्ब रुपैयाँको कारोबार गरेर एनसेल आजियाटालाई समेत उछिनेको छ। आजियाटाले अघिल्लो आर्थिक बर्ष ४१ अर्ब रुपैयाँ(२०२१ डिसेम्बरमा प्रकाशित विवरण) कारोबार गरेको थियो।
कोभिड कालमा केहि कारोबार खुम्चिएको भएपनि २०२२ को पहिलो ६ महिनामै २१ अर्ब ६६ करोड ८० लाख रुपैयाँको कारोबार गरिसकेको थियो। २०२१ मा कम्पनीले २९ अर्ब ५५ करोड ७० लाखको रुपेयाँको कारोबार गरेको थियो।
यो वर्ष कम्पनीले ६० अर्बको कारोबार गर्ने लक्ष्य राखेको छ। स्वदेशी बजारमा तरलताको समस्याले माग केही कम भएपनि भारत निकासीले लक्ष्य भेट्ने बताइएको छ। कम्पनीले जस्ता पाता निकासी गरिरहेको छ।